बुद्ध एयर। फाइल तस्बिर
काठमाडौँ- पश्चिम एसियामा जारी द्वन्द्वका कारण उच्च इन्धन लागतले हवाई सेवा सञ्चालनमा चुनौती बढेको बुद्ध एयरले जनाएको छ। सो अवस्थाले गर्दा भाडा वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको एयरको भनाइ छ।
बुद्ध एयरले विज्ञप्ति जारी गर्दै पश्चिम एसियामा जारी द्वन्द्वले नेपालको पर्यटन सिजनमै प्रत्यक्ष असर पारेको र विदेशी पर्यटकहरूले पूर्व बुकिङ गरेका हवाई टिकटहरू रद्द गरिरहेकाले हवाई सेवा तथा पर्यटन क्षेत्र थप प्रभावित बनेको जनाएको छ।
इन्धन शुल्कमा हालै भएको वृद्धि अहिलेसम्मकै उच्च रहेको उल्लेख गर्दै बुद्ध एयरले स्वचालित रूपमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको जनाएको छ। एयरका अनुसार वर्तमान भाडा समायोजन प्रचलित नियमअनुसार नै गरिएको हो।
बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले यस्तो प्रतिकूल परिस्थितिमा संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडा वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताए।
उनका अनुसार हवाई सेवाको कुल सञ्चालन लागतको करिब ४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरे पनि हालको मूल्यवृद्धिपछि यो अनुपात झण्डै ५० प्रतिशत पुगेको छ।
डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्ति तालिम तथा अन्य आवश्यक खर्चसमेत उल्लेखनीय रूपमा बढेको कम्पनीले जनाएको छ।
वर्तमान अवस्थामा इन्धन मूल्य स्थिर हुन समय लाग्ने भएकाले तत्कालका लागि भाडा समायोजन आवश्यक रहेको कम्पनीको भनाइ छ।




