यस्तो छ बालेन सरकारका मन्त्रीहरूको शैक्षिक योग्यता

हिमाल प्रेस १८ चैत २०८२ १२:५७ | Wednesday, April 1, 2026
556
SHARES
यस्तो छ बालेन सरकारका मन्त्रीहरूको शैक्षिक योग्यता वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्। तस्बिर : रासस

काठमाडौँ- वालेन्द्र शाह (बालेन) को नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषद्का करिब एकतिहाई सदस्यहरूले भारतमा उच्च शिक्षा हासिल गरेका गरेका छन्। प्रधानमन्त्री आफैँले पनि बैंगलोरस्थित निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातकोत्तर (मास्टर्स) डिग्री हासिल गरेका हुन्।

शाहबाहेक भारतमा अध्ययन गर्ने अन्यमा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र सामान्य प्रशासनमन्त्री प्रतिभा रावल छन्। यी सबै भारतका विश्वविद्यालयहरूबाट स्नातक भएका हुन्।

काठमाडौँ महानगरका पूर्वमेयर बालेनले गत शुक्रबार नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै सम्पन्न निर्वाचनमा झन्डै दुईतिहाई सिटमा जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका हुन्।

संरचनात्मक इन्जिनियर तथा र्‍यापरसमेत रहेका बालेनले सन् २०१८ मा स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर अफ टेक्नोलोजी डिग्री हासिल गरेका थिए। उनले सन् २०१६ देखि २०१८ सम्म निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरेका थिए।

३५ वर्षको उमेरमा उनी विश्वका सबैभन्दा कम उमेरका नेतामध्ये एक हुन् र हाल सबैभन्दा युवा मन्त्रिपरिषद्‌मध्ये एकको नेतृत्व गरिरहेका छन्।

शाहले मधेशी समुदायबाट नेपालका प्रधानमन्त्री बन्ने पहिलो नेताको रूपमा पनि इतिहास रचेका छन्। उनले गठन गरेको मन्त्रिपरिषद्‌मा सबैभन्दा ज्येष्ठ सदस्य स्वर्णिम वाग्ले (५१ वर्ष) रहेका छन् भने अधिकांश सदस्यहरू उच्च शिक्षित छन्।

पूर्वाधार विज्ञ लम्सालले नेपालको अधिकांश विकास तथा पूर्वाधार निर्माण कार्यको नेतृत्व गर्नेछन्। उनी पनि निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीका पूर्वविद्यार्थी हुन्।

उनले काठमाडौँ महानगरपालिकामा बालेन मेयर हुँदा विज्ञका रूपमा काम गरेका थिए। शाहजस्तै लम्साल पनि कम उमेरमै मन्त्रालय सम्हाल्ने नेतामध्ये पर्छन्।

स्वास्थ्यमन्त्री निशा मेहताले सन् २००६ देखि २०१० सम्म नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस) को कलेज अफ नर्सिङमा अध्ययन गरेकी थिइन्। त्यसपछि उनले ग्वालियर विश्वविद्यालयमा पनि अध्ययन गरिन् र विराटनगरस्थित विराट टिचिङ अस्पतालमा एक वर्ष काम गरिन्।

संघीय मामिला तथा सामान्य प्रशासन, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त प्रतिभा रावल एसियन कलेज अफ जर्नलिज्म (२०१४-१५ ब्याच) की पूर्वविद्यार्थी हुन्।

रावलले ग्यालेक्सी फोर के टेलिभिजनमा लालमोहर कार्यक्रम सञ्चालन गरेकी थिइन् र राजनीतिमा प्रवेश गर्नुअघि साउथ एसिया चेक तथा रिपब्लिका दैनिकमा पत्रकारका रूपमा काम गरेकी थिइन्।

मेहता र रावल शाहको मन्त्रिपरिषद्मा रहेका पाँच महिला सदस्यमध्ये पर्छन्। अन्य महिला मन्त्रीहरूमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी र कृषि, पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी छन्।

बालेन सरकारका परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाको ‘युनिभर्सिटी अफ विसकोन्सिन म्याडिसन’ बाट सार्वजनिक नीतिमा र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनीसँग श्रीलंका, नेपाल र संयुक्त राज्य अमेरिकामा पुनःनिर्माणका लागि सञ्चालित सर्वाेदय श्रमदान अभियानमा सहभागी भएको अनुभव छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीतिक र अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। सांसद हुनुअघि उनी त्रिभुवन विश्वविद्यालयको आन्तरिक सुरक्षा, राजनीति र कूटनीतिमा अध्यापन गर्दथे।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि लिएका छन्।

डा. वाग्लेले दुई दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय एवं बहुपक्षीय आर्थिक मञ्चमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। उनले अमेरिकाको वासिङ्टन डीसीस्थित विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको मुख्यालयमा एसिया र प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पीएचडी स्कलर’ हुन्। उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एन्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्। साथै उनले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अस्ट्रोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्।

उनले विश्व स्वास्थ्य संगठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता विश्वस्तरीय संस्थामा नीतिनिर्माण र स्वास्थ्य प्रणाली सुधारमा अनुभव बटुलेका छन्।

कानुनमन्त्री सोबिता गौतम काठमाडौँ स्कुल अफ लमा एलएलएम अध्ययनरत छिन्। उनी अघिल्लो चुनावमा काठमाडौँ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। कृषि, पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी गीता चौधरीले कानुनमा स्नातकोत्तर गरेकी छन्।

गृहमन्त्री सुधन गुरुङले कक्षा १० सम्मको अध्ययन पूरा गरेका छन् भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका छन्। श्रेष्ठसँग केही महिना युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गरेकाे अनुभव छ।

यसैगरी शिक्षामन्त्री सस्मित पोखरेलले बीबीएम र एलएलबी अध्ययन पूरा गरेका छन्। काठमाडौँ महानगरमा शिक्षा क्षेत्र सुधारमा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन्। प्रधानमन्त्री बालेनको रोजाइमा शिक्षामन्त्री बनेका उनले मेयर बालेनको टिममा रहेर काम गरेका थिए।

पर्यटनमन्त्री खडकराज (गनेस) पौडेलले एमबीए पूरा गरेका छन्। साहित्यकारसमेत रहेका मन्त्री पौडेलसँग अध्यापन गराएको अनुभव पनि छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बीएसडब्ल्यू गरेकी छन्। स्नातकसम्मको शिक्षा हासिल गरेलगत्तै उनले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तीकरणमा सहयोग पुग्ने सामाजिक संस्था सञ्चालन गर्दै आएकी थिइन्।

गत भदौमा केपी शर्मा ओली नेतृत्वको सरकार सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्धको विरोधमा सुरु भएको जेनजी आन्दोलनपछि सत्ताबाट हटाइएको थियो। २०६३ मा लोकतन्त्र स्थापना भएयता शक्तिशाली व्यक्तिहरूविरुद्ध व्यापक असन्तोष देखिँदै आएको थियो। त्यसपछि रास्वपाले निर्वाचनमा प्रभावशाली जित हासिल गर्दै प्रतिनिधिसभाका २७५ मध्ये १८२ सिट जितेको थियो।

प्रकाशित: १८ चैत २०८२ १२:५७ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast