काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई समयानुकूल प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा थप सुदृढ बनाउने सरकारको योजना रहेको बताए।
निरीक्षणका क्रममा उनलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत उच्च पदस्थ प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले प्रहरीलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै कार्यसम्पादनमा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताए।
उनले प्रहरीप्रति समाजको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नागरिक र प्रहरीबीचको दूरी घटाउन शिष्ट व्यवहार र प्रभावकारी सेवा प्रवाहमा जोड दिए। ‘नागरिकको समस्या सम्बोधन गर्दै सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउनुपर्छ,’ उनले भने।
गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक तालिम र स्रोतसाधनको व्यवस्था गरिने बताए। प्रहरी संगठनको सुदृढीकरण, प्रविधिमैत्रीकरण र आधुनिकरण सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे। उनले बदलिँदो परिस्थितिअनुसार कार्यशैली सुधार्दै छिटो, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिए।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले संविधान, कानुन तथा मानवअधिकारका मापदण्डअनुसार सत्य, सेवा र सुरक्षणको मर्मलाई आत्मसात् गर्दै काम गरिरहेको बताए। उनले संगठनभित्र जनशक्तिको क्षमता, दक्षता र मनोबल अभिवृद्धिमा नेतृत्व निरन्तर लागिरहेको पनि जानकारी दिए।




