रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग अवरुद्ध

हिमाल प्रेस १५ चैत २०८२ ६:३९ | Sunday, March 29, 2026
14
SHARES
रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग अवरुद्ध बीपी राजमार्ग। फाइल तस्बिर

काभ्रेपलाञ्चोक- शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गमा अस्थायी सडकसमेत बगाएपछि रोशी क्षेत्रको सडक अवरुद्ध भएको छ । खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका कारण नसकिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शनिबार रातिदेखि राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाएको छ । शुक्रबार साँझको वर्षात्पछि रोशी खोलामा आएको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै राजमार्ग ठप्प अवस्थामा छ । शनिबार सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा सडकलाई अस्थायी निर्माण गरी सञ्चालनमा ल्याउने योजना बनाइए पनि शनिबारको पटकपटकको वर्षाका कारण सञ्चालनमा ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । उनका अनुसार रोशी खोलाको पानीको बहाव घट्यो भने आइतबार बिहानदेखि यस क्षेत्रमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनार्थ प्रयास जारी गरिनेछ ।

गत सालको बाढीपहिरोले बगाएको सडकखण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको चार किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । डाइभर्सन बगाएको स्थानमा रोशी खोलामा पानीको बहाव घट्न थालेपछि शनिबार बिहानदेखि पुनर्निर्माण थालिए पनि निरन्तरको वर्षाका कारण डाइभर्सन निर्माणमा कठिनाइ भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्थायी पुनर्निर्माण सुरु गरिएका स्थानमा भने बाढीले कुनै प्रकारको क्षति पुर्याएको छैन ।

गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवम् डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आएको थियो । ‘रातिको बाढीले बगाएको स्थानमा डाइभर्सन बनाउन सुरु गरेका थियौँ, निरन्तरको वर्षाका कारण शनिबार साँझसम्म सवारीसाधन सञ्चालन गराउने प्रयास असफ भयो,’ योगेशले भने । उनका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा सडक बगाएको छ।

रोशी खोलाको बाढीको सतह घट्न थालेपछि शनिबार बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाउने तथा डाइभर्सन बनाउन सुरु गरिएको थियो । रोशी खोलामा आएको बाढीले बगाएर शुक्रबार राति ९ बजे राजमार्गमा कार्यरत रोशी गाउँपालिका–७ निबासी अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार कार्यालयका सुपरभाइजर मृतक तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन बीपी राजमार्गमा समेत काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ । यस्तै सोही समयमा चौकीडाँडा नजिकै रोशी खोलाको बाढीमा फसेकामध्ये सात जनालाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको छ ।

प्रकाशित: १५ चैत २०८२ ६:३९ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast