काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ। शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै आइतबार अदालतमा पेस गर्नेछ। प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ।
प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ।
ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो।
कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।




