कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गरे देश पुन: द्वन्द्वमा धकेलिन्छ : महेश बस्नेत

हिमाल प्रेस १३ चैत २०८२ २०:३४ | Friday, March 27, 2026
42
SHARES
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गरे देश पुन: द्वन्द्वमा धकेलिन्छ : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गर्ने काम गरे देश पुनः द्वन्द्वतर्फ धकेलिने चेतावनी दिएका छन्।

नवनियुक्त बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सन्दर्भमा एमाले सचिव बस्नेतले यस्तो चेतावनी दिएका हुन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी प्रदर्शनका क्रममा भएका घटना छानबिन गर्न बनेको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने र व्यक्तिका हकमा सोझै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय छ।

एमाले सचिव बस्नेतले राजनीतिक बदला लिने खोजे पहिलो गाँसमै ढुङ्गापर्ने चेतावनीसमेत दिएका छन्।

‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने, उसको पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन, देशलाई पुनःद्वन्द्वमा धकेल्ने जोखिम पैदा गर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

बस्नेतले तत्कालीन सुरक्षाकर्मी र प्रधानमन्त्री एवं मन्त्रीहरूका सन्दर्भमा मन्त्रिपरिषद्ले षडयन्त्रपूर्ण निर्णय गरेको आरोपसमेत लगाएका छन्।

उनले भनेका छन्,‘सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलायतका व्यक्तिहरूको हकमा भने सोझै कार्यान्वयन गर्ने कुटिल र षडयन्त्रपूर्ण निर्णय कुनै पनि हालतमा स्वीकार्य हुँदैन। न्याय सबैका लागि समान हुनुपर्छ, अन्यथा यसको विरूद्ध सशक्त प्रतिरोध अवश्य हुनेछ।’

भदौ २३ गते आन्दोलन भड्काउने, स्कुल पोशाकमा बालबालिकालाई जबरजस्ती सडकमा उतार्नेहरू प्रधानमन्त्री र मन्त्री बनेको भन्दै उनले सबैमाथि अनुसन्धान गर्न माग गरेका छन्।

‘आन्दोलन भड्काउने, स्कुले पोशाकमा बालबालिकालाई जबरजस्ती सडकमा उतार्ने, उनीहरूलाइृ चारैतिरबाट घेराबन्दी गरी तनावपूर्ण वातावरण सिर्जना गर्ने र आतंक निम्त्याउने कार्य र भदौ २४ मा उग्र उपद्रो मच्चाउँदै सदन, सिंहदरबार, सर्वोच्च अदालत, सरकारी कार्यालयहरू…आगजी र तोडफोड गर्ने जस्ता घटनामा संलग्नहरू जो प्रधानमन्त्री, मन्त्री र सांसदसमेत बनेका छन्, सबैमाथि निष्पक्ष अनुसन्धान गरी कारबाही हुन अत्यावश्क छ,’ बस्नेतले भनेका छन्।

उनले विभिन्न सन्देहास्पद गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको रकम ‘अपराध’ मा प्रयोग भएको आशंका रहेको बताएका छन्। उनले भनेका छन्,‘शक्तिको आडमा गरिने यस्ता आतंककारी गतिविधि र त्यसको नेतृत्व समाजका लागि कदापि स्वीकार्य हुन सक्दैन।’

बस्नेतले सबै पक्षको निष्पक्ष अनुसन्धानविना चालिने कुनै पनि कदम पूर्णग्रहपूर्ण हुने जिकिर गरेका छन्।

प्रकाशित: १३ चैत २०८२ २०:३४ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast