२९ वर्षका सस्मित पोखरेल शिक्षामन्त्री, के छ उनका योजना?

हिमाल प्रेस १३ चैत २०८२ ११:५१ | Friday, March 27, 2026
798
SHARES
२९ वर्षका सस्मित पोखरेल शिक्षामन्त्री, के छ उनका योजना?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २९ वर्षीय सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेसँगै नेपाली राजनीतिमा नयाँ पुस्ताको उपस्थितिले थप अर्थ पाएको छ।

काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेल परम्परागत राजनीतिक पृष्ठभूमिभन्दा फरक पहिचान बनाएका युवा नेता हुन्।

काठमाडौँमै जन्मिएका, हुर्किएका र शिक्षित भएका उनी आफूलाई भाषणभन्दा काममा विश्वास गर्ने प्रतिनिधिका रूपमा प्रस्तुत गर्छन्।

उनको शैक्षिक यात्रा पनि त्यत्तिकै सुसंगत देखिन्छ। काठमाडौँ विश्वविद्यालयबाट कानुन तथा व्यवस्थापन (बीबीएम-एलएलबी) अध्ययन गरेका पोखरेलले कानुन निर्माण र त्यसको नागरिक जीवनमा पर्ने प्रभावलाई नजिकबाट बुझेका छन् भने हाल त्रिभुवन विश्वविद्यालयमा सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नातकोत्तर अध्ययन गर्दै सार्वजनिक नीतिलाई अझ प्रभावकारी र पारदर्शी बनाउने दिशामा आफूलाई सशक्त बनाइरहेका छन्।

करिब एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय पोखरेलले काठमाडौँ महानगरपालिकामा शिक्षा क्षेत्र सुधारका लागि नीति निर्माण, बजेट व्यवस्थापन र कार्यक्रम कार्यान्वयनसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सो क्रममा उनले देशका दुर्गम क्षेत्रका ३० हजार ७७९ विपन्न तर जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय विद्यालयमा छात्रवृत्ति उपलब्ध गराउन योगदान दिएका थिए।

डिजिटल कक्षा, स्मार्ट बोर्ड र सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण जस्ता कार्यक्रममार्फत सामुदायिक विद्यालयको गुणस्तर सुधारमा मापनयोग्य परिवर्तन ल्याउने प्रयास गरेका थिए।

सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा दीर्घकालीन सहर विकास योजना निर्माणमा संलग्नता, प्रदेश सांसद सचिवालयमा कानुन विभाग संयोजकको भूमिका तथा केन्द्रीय संसद सचिवालयमा विधायन प्रक्रियासम्बन्धी अनुभवले उनलाई व्यवहारिक र कार्यान्वयनमुखी नेतृत्वका रूपमा स्थापित गरेको देखिन्छ।

मन्त्रीका रूपमा पोखरेलले शिक्षा सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्। सार्वजनिक विद्यालयको गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास र डिजिटल प्रविधिमा आधारित शिक्षालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने उनको लक्ष्य छ।

‘शिक्षा खर्च होइन, लगानी हो’ भन्ने अवधारणालाई नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। त्यसैगरी, युवालाई विदेश पठाउने होइन, नेपालमै अवसर सिर्जना गर्ने उद्देश्यसहित नवप्रवर्तनमैत्री नीति, सूचना प्रविधिमा आधारित रोजगारी, स्वतन्त्र पेसागत काम (फ्रिलान्सिङ) र टाढाबाट काम गर्ने प्रणालीलाई प्रवर्द्धन गर्ने तथा डिजिटल घुमन्ते भिसा जस्ता अवधारणा अघि बढाउने योजना उनले अघि सारेका छन्।

उनको एजेन्डामा खेलकुदमार्फत युवा सशक्तीकरण पनि समेटिएको छ‍ जहाँ विद्यालय स्तरमै खेलकुदलाई पाठ्यक्रमसँग जोड्ने र खेल छात्रवृत्ति नीति ल्याउने प्रस्ताव गरिएको छ।

पोखरेल संसद्लाई बहस गर्ने थलो मात्र नभई नीति निर्माण, कानुन निर्माण र परिणाम दिने मञ्चका रूपमा हेर्छन्। उनका अनुसार ऊर्जाशील, जिम्मेवार र तथ्यमा आधारित निर्णय गर्न सक्ने युवा सांसदहरूको सक्रियताले मात्र देशलाई सुशासन र समृद्धितर्फ डोर्‍याउन सक्छ।

प्रकाशित: १३ चैत २०८२ ११:५१ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast