अमेरिका-इरान-इजरायल द्वन्द्व : ट्रम्पको बदलिएका अभिव्यक्ति

हिमाल प्रेस १० चैत २०८२ १२:०१ | Tuesday, March 24, 2026
24
SHARES
अमेरिका-इरान-इजरायल द्वन्द्व : ट्रम्पको बदलिएका अभिव्यक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साेमबार फ्लोरिडाको वेस्ट पाम बीचस्थित पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा एयर फोर्स वनमा चढ्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै। तस्बिर : रोबर्टो श्मिट/गेटी इमेज/एएफपी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग सम्झौता गर्ने प्रयासमा रहेका बेला पछिल्ला केही दिन उनका गतिविधि कूटनीति र ध्यान भंग गर्ने क्रियाकलापको मिश्रण जस्तै देखिएका छन्- कहिलेकाहीँ त अलि अनौठो मोडसमेत लिएको छ।

शुक्रबार उनले इरानविरुद्धको अमेरिकी युद्ध ‘क्रमशः अन्त्यतिर’ रहेको बताएका थिए। तर शनिबार राति उनले हर्मुज जलडमरू पुनः खुला नगरे कडा हवाई आक्रमण गर्ने चेतावनीसहित इरानलाई ४८ घण्टाको अन्तिम चेतावनी दिए। त्यसको भोलिपल्ट उनले गल्फ खेले र फ्लोरिडास्थित आफ्नै विश्रामस्थलमा समय बिताए।

सोमबार बिहान विश्व बजारमा गिरावट आएको बेला उनले इरानसँग ‘रचनात्मक’ वार्ता भइरहेको बताए। त्यसपछि उनी टेनेसीको मेम्फिस उडे, भाषण दिए र संगीतका दिग्गज एल्भिस प्रेस्लीको ऐतिहासिक घर ग्रेसेल्यान्ड भ्रमण गरे।

यसबीच, अमेरिका र इजरायलले इरानका लक्ष्यहरूमा हवाई आक्रमण जारी राखेका छन्। इरानले पनि अमेरिकी सेना र मध्यपूर्वका उसका सहयोगीहरूविरुद्ध क्षेप्यास्त्र र मानवविहीन उड्ने यन्त्र प्रहार गरिरहेको छ। हर्मुज जलडमरू हुँदै जहाज आवागमन अझै सीमित छ।

शनिबार रातिको ट्रम्पको अन्तिम चेतावनी थियो- यदि इरानले अन्तर्राष्ट्रिय ढुवानीका लागि हर्मुज खोल्दैन भने अमेरिकाले ऊर्जासम्बन्धी पूर्वाधारमा आक्रमण गरी देशलाई अँध्यारोमा धकेल्नेछ। यो कडा चेतावनी थियो।

त्यसको जवाफमा इरानले क्षेत्रीय ऊर्जा र पानी पूर्वाधारलाई निशाना बनाउने चेतावनी दियो। तीन हप्तादेखि जारी युद्ध अझ चर्किने र नागरिकमा गम्भीर असर पर्ने संकेत देखिएको थियो। तर सोमबार बिहान ट्रम्पले आक्रमण अस्थायी रूपमा रोके।

इरानी नेतासँग (जसको पुष्टि इरानले गरेको छैन) भएको सम्पर्कका कारण पाँच दिनका लागि आक्रमण स्थगित गरिएको उनले बताए। टेनेसी प्रस्थानअघि उनले सकारात्मक संकेत दिए। ‘हामी र इरानबीच धेरै बुँदामा सहमति छ,’ उनले भने, ‘उनीहरू सम्झौता गर्न चाहन्छन्, हामी पनि चाहन्छौं।’

मेम्फिसमा अमेरिकी राष्ट्रिय सुरक्षा बललाई सम्बोधन गर्दै उनले ‘धेरै राम्रो’ वार्ता भइरहेको बताए। ‘इरानसँग अमेरिका र हाम्रा सहयोगीहरूमाथि खतरा अन्त्य गर्ने अन्तिम अवसर छ,’ उनले भने,‘हामी आशा गर्छौं, उनीहरूले यो मौका लिनेछन्।’

पछि ट्रम्प ग्रेसेल्यान्ड पुगे जहाँ उनले एल्भिस प्रेस्लीको घर अवलोकन गर्दै मेम्फिसको अपराध दर घटेको दाबी गरे जसलाई उनले राष्ट्रिय सुरक्षा बलको परिचालनसँग जोडे। त्यसै क्रममा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग फोन वार्ता गरेको र इरानसँग प्रत्यक्ष वार्ताको सम्भावनाबारे खबरहरू बाहिरिए।

कूटनीतिक प्रयास अघि बढिरहेको देखिए पनि विस्तृत जानकारी नआएकाले विश्वभर शंका कायम रह्यो। इरानी सरकारी सञ्चारमाध्यमले ट्रम्प पछि हटेको दाबी गरे भने इरानी अधिकारीहरूले कुनै ठोस वार्ता नभएको बताए। ट्रम्पले ‘१५ बुँदामा सहमति’ भएको भने पनि विस्तृत विवरण दिएका छैनन्।

तर वार्ताको सम्भावनाले मात्रै अमेरिकी सेयर बजार उकालो लाग्यो र विश्व तेल मूल्य घट्यो। आर्थिक रूपमा तनावपूर्ण दिनमा केही आशाको किरण देखियो। अब ट्रम्प वाशिङ्टन फर्किएका छन् जहाँ इरानको ऊर्जा पूर्वाधारमा सम्भावित आक्रमणका लागि नयाँ पाँच दिनको समयसीमा सुरु भएको छ।

कहिले कूटनीति, कहिले दबाब र बीचमा ग्रेसेल्यान्डको भ्रमण। यी सबैबीच ट्रम्पले सम्भावित प्रगतिको संकेत दिएका छन्। तर यो साँच्चिकै सफलता हो कि समय किन्ने अर्को रणनीति त्यो भने अझै स्पष्ट छैन। ग्रेसेल्यान्ड भ्रमणका क्रममा उनले आफू एल्भिस प्रेस्लीका ठूलो प्रशंसक भएको र ‘हर्ट’ आफ्नो मनपर्ने गीत भएको बताए। तर वर्तमान अवस्थालाई हेर्दा ‘अहिले होइन भने कहिल्यै होइन’ भन्ने गीत अझ उपयुक्त देखिन सक्छ। बीबीसी 

प्रकाशित: १० चैत २०८२ १२:०१ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast