तेहरान- इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन जारी रहेको जनाएको छ। आइतबार इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युद्धसम्बन्धी अवस्थाका कारण आवश्यक सुरक्षा उपायहरू अपनाइएको उल्लेख गरिएको छ।
विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैँ सम्मान गर्दै आएको बताएको छ। पछिल्लो समय संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणका कारण खाडी क्षेत्र र हर्मुज क्षेत्रमा जोखिमपूर्ण अवस्था सिर्जना भएको दाबी गरिएको छ।
इरानले आफ्नो आत्मरक्षाको अधिकार प्रयोग गर्दै आक्रमणकारीविरुद्ध कदम चालिएको जनाएको छ। यस क्रममा उसले अमेरिकी सैन्य अड्डा तथा संरचनाहरूलाई लक्षित गरी आक्रमण गरेको पनि उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार आक्रमणमा संलग्न वा समर्थन गर्ने देशका जहाजहरूलाई हर्मुज क्षेत्र पार गर्न रोक लगाइएको छ। तर अन्य देशका गैरशत्रुतापूर्ण जहाजहरूले इरानी निकायसँग समन्वय गरी सुरक्षित रूपमा आवागमन गर्न सक्ने जनाइएको छ।
इरानले उक्त क्षेत्रमा दीगो शान्ति र स्थायित्व कायम गर्न बाह्य सैन्य आक्रमण अन्त्य हुनु आवश्यक रहेको जोड दिएको छ। अमेरिका र इजरायलका गतिविधि रोक्नुपर्ने र इरानका वैध हितहरूको सम्मान हुनुपर्ने बताइएको छ।
यसअघि इजरायल र अमेरिकाले संयुक्त रूपमा तेहरानसहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो। त्यसपछि इरानले इजरायल र मध्यपूर्वस्थित अमेरिकी आधारहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरी प्रतिक्रिया दिएको थियो।रासस/सिन्ह्वा




