नेता बन्ने प्रस्ताव छाडेर सडकमै

किरण पौडेल ८ चैत २०८२ १७:३६ | Sunday, March 22, 2026
36
SHARES
नेता बन्ने प्रस्ताव छाडेर सडकमै बायाँबाट क्रमश: रक्षा बम, युजन राजभण्डारी, तनुजा पाण्डे, उपार्जुन राई र माजिद अन्सारी।

काठमाडौँ- जेनजी आन्दोलनको जगमा बनेको सरकारले गराएको चुनावले पुराना दलहरूलाई किनारामा धकेलिदियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुईतिहाई नेतृत्वको सरकार गठनको तयारीमा छ।

चुनावी परिणाम रास्वपाका पक्षमा आउनुमा जेनजी आन्दोलनको पनि ठूलो भूमिका छ। आफ्ना सहकर्मीहरूले संसद्‌मा कानुन निर्माणको जिम्मेवारी सम्हालिरहँदा केही अभियन्ताहरूले राज्यसत्ताप्रति सतर्कता र खबरदारी जारी राखिरहेका छन्। जेनजी आन्दोलनपछि चिनिएका सुदन गुरुङ, मनीष खनाल, सस्मित पोखरेल, बब्लु गुप्ता, प्रशान्त उप्रेती, आरेन राई, रामजी यादव, सुलभ खरेल, केपी खनाल र शिव शंकर यादव सांसद बनेका छन्। बब्लु गुप्ता त यसअघि मन्त्री पनि थिए।

तर जेनजी आन्दोलनमा सक्रिय रहे पनि केही अभियन्ताले राजनीतिक दल रोजेनन्। चुनावमा उम्मेदवार बन्न दलले गरेको प्रस्ताव अस्वीकार गरेका उनीहरू न नेता बने, न सांसद। अहिले पनि उनीहरू सडकमै अभियन्ताको भूमिकामा सक्रिय छन्।

रक्षा बम

जेनजी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेकी अभियन्ता हुन् रक्षा बम। भदौ २३ को आन्दोलनको नेतृत्व गरेकी रक्षाले त्यस दिन माइतीघरमा सम्बोधनसमेत गरेकी थिइन्। भ्रष्टाचारविरुद्ध अभियान भन्दै उनले शान्तिपूर्ण रूपमा कार्यक्रम अघि बढाउन अनुरोध गरेकी थिइन्। आन्दोलन एकाएक हिंसात्मक बन्यो। मुलुक अभिभावकविहीन बन्दा नेपाली सेनासँग संवाद गर्नेमा प्रमुख पात्र बनिन् रक्षा। तिनै रक्षालगायतको पहलमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो।

कार्की सरकारले तोकेको समय फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरायो। अब चाँडै सत्ता हस्तान्तरणको तयारी छ। यसबीचमा भएको राजनीतिक उथलपथलमा विगतमा केन्द्रमा रहेका नेताहरू र दल किनारा लागेका छन्।

जेनजीले रुचाएकै पात्र बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको छ। रक्षा भने सडकमै छिन्। ‘मेरा लागि सडक नजिक छ। नेता बन्नु भन्दा मुलुक बनाउने अठोट छ मेरो’, रक्षा भन्छिन्।

सुदूरपश्चिमको कैलालीमा जन्मिएकी रक्षाको माध्यमिक तहसम्मको त्यहीँ पूरा भयो। उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौँ छिरेपछि उनलाई समाज र राजनीतिप्रति बढी चासो लाग्न थाल्यो। ‘काठमाडौँ छिरेपछि मात्र हाम्रो क्षेत्र (सुदूरपश्चिम) कस्तो रहेछ भन्ने हेक्का पाएँ।’ यस क्रममा समाजसेवामा लागिन्। उनी उज्वल थापा फाउन्डेसनमा समेत जोडिइन्। त्यसपछि परिवर्तन भनेको के रहेछ भन्ने थाहा भयो। रक्षा सम्झिन्छिन्, ‘हामी परिवर्तनकै लागि माइतीघरमा दिनहुँ बसेका छौँ। थाहा छैन कति पूरा भए कति भएनन्। तर निरन्तर लागिरहेका छौँ।’ आजसम्म आइपुग्न फाउन्डेसनकै देन रहेको उनको भनाइ छ।

‘मलाई थाहा समाज कतिसम्म जटिल छ भन्ने कुरा। आजसम्म पनि परिवर्तन भएन तर अब गर्नुपर्छ भन्ने लाग्छ’, उनी भन्छिन्। अब बन्ने सरकारलाई पनि कुनै न कुनै तवरबाट दबाब दिनुपर्छ भन्ने लाग्छ रक्षालाई। ‘सबैलाई प्रश्नको घेरामा राख्नुपर्छ। नयाँ सरकारलाई पनि हामी प्रश्न गर्छौँ’, उनी थप्छिन्।

जेनजी अभियान पनि त्यस्तै आन्दोलन थियो। उनकै अगुवाइमा भ्रष्टाचारविरुद्ध अभियान अघि बढेको थियो। जेनजी आन्दोलन हिंसात्मक बन्यो। यस विषयमा पनि रक्षा अचम्मित छन्। ‘कसरी यस्तो घटना भयो, थाहा छैन। प्रहरी घेरा तोड्ने अवस्था आउला भन्ने लागेकै थिएन’, उनी भन्छिन्। रक्षामाथि अनेक प्रश्न तेर्सिएका छन्। सिंहदरबार जल्दै गर्दा उत्सव मनाएको भन्दै आलोचना भएको छ।

उनी भन्छिन्, ‘देश जलिरहेका बेला प्रधानमन्त्री (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को राजीनामा आयो। त्यही कारण मैले खुसी मनाएकी थिएँ। तर सिंहदरबार जलेकोमा उत्सव मनाएकी होइन।’ त्यसो त उनी आफूमाथि उठेका प्रश्नलाई सहज लिन्छिन्।

जेनजी आन्दोलनबारे छानबिन गर्न कार्की सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा छानबिन बनाएको थियो। आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। रक्षाको अबको पहिलो माग छ- प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ। प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै रक्षा अहिले सडकमा छिन्। ‘प्रतिवेदन नआएसम्म आन्दोलन कसले गरेको थियो। थाहा हुँदैन’, उनी भन्छिन्, ‘हामीलाई थाहा चाहियो।’

रक्षासँगैका अधिकांश अभियन्ता राजनीतिको केन्द्रमा पुग्दा उनीचाहिँ मौन छिन्। उनलाई राजनीतिमा आउन प्रस्ताव नआएको होइन। चुनावमा उम्मेदवार बन्न पनि प्रस्ताव आएको थियो। ‘सबैजस्तो पार्टीबाट प्रस्ताव आयो तर बनिनँ’, उनी भन्छिन्। रक्षालाई समाज परिवर्तन गर्ने हुटहुटी छ। साथै मुलुकमा गतिलो प्रतिपक्षको अभाव होला कि भन्ने चिन्ता। ‘कसै न कसैले त प्रतिपक्ष बन्नुपर्छ भन्ने लाग्छ’, उनी भन्छिन्।

रक्षालाई तत्काल नेता बन्नु वा राजनीति गर्नु पनि छैन। उनका दुई लक्ष्य छन्- उच्चशिक्षा अध्ययन गर्न युरोपतिर जाने र जेनजी फ्रन्टलाई देशव्यापी बनाउने। ‘मास्टर्सको थेसिस बाँकी छ। त्यो सकेपछि बाहिर (देशबाहिर) जान सक्छु। नभए फ्रन्टकै कार्यक्रम अघि बढाउँछु’, उनले आफ्नो योजना सार्वजनिक गरिन्।

उनलाई सरकार हिजोको जस्तो ‘दम्भी’ सत्ता नहोस् जस्तो लाग्छ। सत्ता अहंकारी बने फेरि सडकबाटै दबाब दिने रक्षाको उद्घोष छ। ‘सत्ताको चरित्र चाम्रो हुन्छ। हामीले खबरदारी गर्नैपर्छ’, उनले भनिन्। आफू पुराना दलको विरोधी नभएको पनि उनको स्पष्टोक्ति छ। ‘हामी पुराना दलका विरोधी होइनौँ। हामीले विगतमा पनि देशमा सुशासनका लागि अभियान चलाएकै हौँ’, उनले भनिन्।

जेनजी आन्दोलनपछि पनि अभियान जारी राख्नुका विषयमा उनले भनिन्, ‘हामीले दबाब दिएमा मात्र सत्ता सही बाटोमा हिँड्छ। नभए त विगतकै बाटोमा हिँड्छ नि होइन?’ उनको प्रश्न छ।

युजन राजभण्डारी

रक्षाजस्तै अभियन्ता हुन् युजन राजभण्डारी। उनी पनि प्रायः आन्दोलनतिरै भेटिन्छन्। जेनजी आन्दोलनपछि उनलाई पनि राजनीतिमा संलग्न हुन प्रस्ताव नआएको होइन। युजनका साथीहरू सांसद बनेका छन्। साथीहरूलाई निर्वाचित गराउन सक्रिय भूमिका खेलेका युजन आफूचाहिँ सडकमै छन्।

सत्ता र पार्टी राजनीतिमा संलग्नताबारे उनी भन्छन्, ‘हामी सबै सत्तामा जान चाहेका थिएनौँ। कोही सडकमा बस्ने कोही सदनमा जाने अघोषित सम्झौता थियो।’ उनका अनुसार कोही सदनबाट दबाब दिने र कोही सडकबाट दबाब दिने गृहकार्य थियो। युजना सडक खाली छाड्नु हुन्न भनेर सदनमा नगएको बताउँछन्।

उनी सानैदेखि विभिन्न अभियानमा संलग्न थिए। ‘मेरो जन्म खोटाङको पनि ग्रामीण भेगमा भएको हो। जहाँबाट सदरमुकाम आउन पनि लामो समय लाग्छ’, युजन भन्छन्। उनलाई आन्दोलनको प्रभाव २०६२/०६३ देखि नै परेको थियो। उनले ०६२/०६३ को आन्दोलन नजिकैबाट देखेका थिए।

केही समयपछि उनको परिवार काठमाडौँ सर्‍यो। उच्चशिक्षा अध्ययनका बेला उनी विवेकशील अभियानमा जोडिए। विवेकशीलसँगको संलग्नताले आफूलाई सशक्त बन्न प्रेरित गरेको उनी बताउँछन्। यसअघिसम्म उनी विवेकशीलकै युवा संगठनमा थिए। अहिले अभियन्ता मात्रै छन्। अब बन्ने सरकारले गलत काम गरे आफूले खबरदारी गर्ने उनको बाचा छ।

तनुजा पाण्डे

अभियन्ताका रूपमा परिचित नाम हो, तनुजा पाण्डे। देश विकास नभएको र भ्रष्टाचार नियन्त्रण नभएकोमा तनुजा चिन्तित थिइन्। उनी मुलुक मुख्य दलका शीर्ष नेताको बन्धक बनेको राजनीतिबाट बाहिर निस्कनुपर्ने पक्षमा थिइन्। कानुन व्यवसायीसमेत रहेकी उनले मुलुक समृद्ध बन्ने सम्भावना कतैबाट देखिनन्। यही कारण उनी पनि भदौ २३ को जेनजी प्रदर्शनमा अग्रमोर्चामै सक्रिय भइन्।

कैलाली घर भएकी तनुजा बाल्यकालमै झापा सर्नुपर्‍यो। बसाइँ सराइले उनलाई नेपालका भौगोलिक र सामाजिक खाडल बुझ्न मौका मिल्यो। झापाको चुरे क्षेत्रमा उनको घर छ। खोला नजिक घर भएकाले पनि चुरे दोहनको पीडा उनी र उनको परिवारमा पर्थ्यो। चुरे जोगाउनुपर्छ भन्ने चेत उनमा थियो। गाउँकै पहुँचवालाले कानुनविपरीत मोटो रकम लिएर चुरेको ‘झिटी’ बेच्थे। जसको पीडा उनको परिवारमा समेत पर्थ्यो। उनले सानैबाट पढेको ‘चुरे जोगाऊ, रूख बचाऊ’ अभियान पनि किताबमै सीमित थियो। यही कारण उनी वातावरण संरक्षण अभियानमा जोडिइन्।

जलवायु र न्यायका लागि उनी ‘लुज एलाइन्स’ बनाएर काम गर्न थालिन्। वातावरण क्षेत्रमै काम गरेर उनी विभिन्न ठाउँमा पुगेकी छन्। ‘समाजका अगुवा भनिएका व्यक्तिहरूबाट वातावरण बिग्रिएको छ’, तनुजा भन्छिन्।

२०७६ पुस २५ मा धनुषामा वातावरण अभियन्ता दिलीपकुमार महतोको हत्या भएको घटनाले अझै पनि तनुजाको आँखा रसाउँछ। महतो आफ्नो गाउँको औरही खोलामा भइरहेको अवैध बालुवागिट्टी उत्खननविरुद्ध अभियान चलाउन पुगेका बेला क्रसर उद्योगीहरूको फन्दामा परेका थिए। त्यहीँ उनको हत्या गरिएको थियो। त्यो पीडा तनुजामा पनि पर्‍यो। त्यसपछि झनै उनी सशक्त अभियान चलाउन थालिन्। उनी अहिले हरिन नेपाल नामक संस्थाबाट अभियान चलाउँछिन्।

‘जेनजी आन्दोलनपछि एक किसिमको राजनीतिक परिवर्तन भयो। अब हामी आफ्नै काममा फर्कियौँ’, उनी भन्छिन्, ‘हामीले राजनीतिबाट केही स्वार्थ पूरा गर्नका लागि जेनजी आन्दोलन गरेका थिएनौँ। देश र हाम्रै पुस्ताका लागि थियो।’

तनुजा राजनीतिक दलमा आबद्ध छैनन् तर समर्थन गर्छिन्। कुनै बेला उनी ‘पीएम मिसन गगन थापा’ भन्दै सामाजिक सञ्जालमा प्रचार गर्थिन। ‘मलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ। म कांग्रेस भएर उहाँ (गगन थापा) लाई समर्थन गरेको होइन। मैले एमालेमा विन्दा पाण्डेहरूले विद्रोह गर्दा पनि समर्थन जनाएँ’, उनले स्पष्ट पारिन्।

तनुजा राजनीतिमा नआउने ग्यारेन्टी त गर्दिनन्। तर तत्काल आउने योजना नरहेको सुनाउँछिन्। ‘अहिल्यै राजनीति गर्दा हामीले लाभ लिन जस्तो लाग्छ नि। अर्को कुरा, तत्काल राजनीति गर्नुपर्छ भन्ने पनि लाग्दैन’, उनी थप्छिन्। कानुन व्यवसायीकै रूपमा केही वर्ष बिताउने उनको योजना छ।

उपार्जुन राई

पूर्वको खोटाङमा जन्मिएका उपार्जुन पनि जेनजी अभियानमा सक्रिय भएको नाम हो। उनी देशमा समृद्धि ल्याउने सपना बोकेर आन्दोलित भएको बताउँछन्। उपार्जुनलाई पनि भदौ २३ को आन्दोलन विध्वंसमा परिणत होला भन्ने त लागेको थिएन।

उपार्जुन सांस्कृतिक र भाषिक समानताका पक्षपातीका रूपमा चिनिन्छन्। उनी खुवालुङ (कोशीको ढुंगा) र पाथीभरा (मुक्मुलुङ) को जगेर्ना गर्नुपर्छ भन्ने पक्षमा छन्। यी दुवै आन्दोलनमा उनी प्रत्यक्ष सहभागी बने। ‘मलाई सांस्कृतिक र पहिचानलाई जीवित राख्नुपर्छ भन्ने लाग्छ। म सधैँ यी आन्दोलनमा छु’, उपार्जुन भन्छन्। उनलाई सप्तकोशीको किराती संस्कृतिसँग जोडिएको खुवालुङसँग प्रेम छ।

‘किरातीको संस्कृति हो खुवालुङ। यसको मिथकका कारण हाम्रो संस्कृति बचेको छ’, उपार्जुन भन्छन्। उनी पाथीभराको ‘नो केबलकार’ अभियानमा पनि सहभागी बने। त्यसो त प्रदेशकै नाम कोशी राखिएकोमा उनलाई चित्त बुझेको छैन। उनी पहिचानकै आधारमा नाम बन्नुपर्छ भन्ने अडानमा छन्।

खोटाङको दिक्तेलमा आधारभूत तहसम्म अध्ययन गरेका उपार्जुन त्यसपछि धरानतिर लागे। उनको राजनीतिक चेत धरानबाटै सुरु भयो। त्यसपछि उनी विवेकशील साझाको अभियानमा जोडिए। त्यसैबाट उनले राजनीति बुझ्ने मौका पाए। उनी काठमाडौँ आएको धेरै भएको छैन। ‘म त काठमाडौँ आएको दुई वर्ष जति मात्र भयो’, उनी भन्छन्। विवेकशील साझाले सुशासनको वकालत गथ्र्यो उपार्जुन सुशासनसहित पहिचानका पक्षमा वकालत गर्थे।

उपार्जुन कुनै दलमा आबद्ध भने छैनन्। उनले फागुन २१ को चुनावमा पनि आफूले चाहेको नेतालाई जिताउन सक्रिय भए। चुनावमा उनले पूर्वमा हर्क साम्पाङसहितका केही उम्मेदवारलाई सहयोग गरे। तर उनी श्रम संस्कृति पार्टीमा लागेका भने होइनन्। ‘मैले आफूले चाहेको व्यक्तिलाई सहयोग गरेको हुँ। पार्टी छानेको होइन’, उपार्जुनले भने।

‘राजनीति गर्ने व्यक्तिगत छनोटको विषय हो। बाध्यकारी भएन,’ उपार्जुन भन्छन्, ‘हिजो दलको आलोचना गरियो। अब फेरि दलमै जाने हो भने हबिगत उही त होला नि।’ उनी सडकबाटै खबरदारी गर्नुपर्छ भन्ने अडान राख्छन्।

माजिद अन्सारी

जेनजी आन्दोलनका सशक्त अभियन्तामध्येका एक हुन् माजिद अन्सारी। भदौ २३ को आन्दोलनमा सहभागी भए पनि उनको अभियान अलि फरक छ। मोरङको मोरङको कर्सिया बजारमा जन्मिएका अन्सारीलाई भ्रष्टाचारविरुद्ध र अशिक्षाविरुद्ध उभिनु थियो। यसका लागि उनले पटकपटक समाजमा विद्रोह गर्न खोजे। तर उनको केही लागेन। माजिद दलका भ्रातृ संगठन र भ्रष्टाचारका चर्को विरोधी हुन्।

भ्रष्टाचार बढेको र कानुन कार्यान्वयन नभएकोमा माजिदको सधैँ गुनासो छ। उनी कानुनका विद्यार्थी हुन्। उनले कानुन पढ्नुको कारण पनि खुलाए। गरिबीले थलथलिएका व्यक्तिको कागजपत्र गायब गरेर सरकारी अधिकृतले घुस मागेको कुरा उनकी आमाले देखेकी थिइन्। त्यही कुरा आमाको मुखबाट सुन्दा माजिद प्रभावित बने। त्यही प्रसंगले माजिदमा कानुन पढ्ने इच्छा पलायो।

कक्षा ११ पछि उनी कर्सिया युवा क्लब दर्ताका लागि प्रशासन पुग्दा एक सातासम्म पर्खनुमात्रै परेन कर्मचारीलाई १० हजार रुपैयाँ घुस पनि दिनुपर्‍यो। त्यो कुराले पनि कानुन पढ्न प्रेरित गरेको उनी सुनाउँछन्।

‘हामी समाजसेवाका लागि संस्था दर्ता गर्न गएका थियौँ। कर्मचारीले काम छिटो गरिदिएनन् उल्टै घुस मागे’, माजिद सम्झन्छन्। त्यसपछि एकपटक गाउँतिर विद्यार्थी भर्ना अभियानमा संलग्न भएको उनी बताउँछन्। गाउँका बच्चाहरूले ‘म पढ्न जाँदा तपाईंले घर खर्च चलाइदिनुहुन्छ?’ भन्ने जबाफ दिन्थे। माजिदका अनुसार छोरा मान्छेहरू मदिरामा लठ्ठ देखिन्थे भने छोरी मान्छेचाहिँ श्रममा व्यस्त।

‘बच्चाबच्चीले आमालाई अलिअलि सघाउँदा रहेछन्। जुन पैसा आमाहरूले कमाउँथे। त्यो पनि आधा बाउहरूलाई रक्सी खान दिनुपर्थ्यो,’ माजिद भन्छन्, ‘समुदायका बालबच्चा पढ्न नमानेपछि मैले विद्यालय गएर सोधेँ। बालबच्चा पढाउने जिम्मा कसको हो भन्दा त सरकारको भन्ने जबाफ आयो।’

माजिदले कलेज तहमा पनि स्ववियुमा भ्रातृ संगठनहरूको बिगबिगी हटाउने प्रयत्न गरे। तर आफूमाथि नेताहरूले प्रहार गरेको उनको गुनासो छ।

‘मैले भ्रातृ संगठनको विरोध गरेँ। तर ममाथि नै प्रहार भयो’, माजिद सम्झन्छन्। उनी स्वतन्त्र रूपमा स्ववियु सदस्य उठ्न खोजेका थिए तर हार्ने भयले नेविसंघमा आबद्ध भए। समानुपातिक तहबाट स्ववियु सदस्य हुँदा केही काम गरे। तर उनीसँगै निर्वाचित सदस्यहरूले धेरै खर्च गरेको पत्तो पाए। हिसाब सार्वजनिकको माग गर्दा उनी समानुपातिकबाटै बाहिरिनुपरेको थियो।

माजिदले त्यसै दिन नेविसंघ पनि छाडिदिए। ‘जेनजी आन्दोलन पनि मैले भनेकै विषयमा आधारित थियो। सुशासनका पक्षको कुरा उठेपछि म पनि गएँ’, माजिद भन्छन्, ‘नेविसंघले पनि कार्यक्रम गर्ने भन्दा हामीले नगरिदिन अनुरोध गर्‍यौँ। उसले कार्यक्रम फिर्ता पनि लियो।’

स्वतन्त्र युवाले गरेको कार्यक्रम सशक्त बनाउन उनी पनि लागिपरे। माइतीघरबाट सुरु भएको प्रदर्शनमा उनलाई घटीमा १० हजारदेखि बढी ५० हजार युवा आउने अनुमान थियो।

माइतीघरमा भीड बढेपछि उनीहरू बानेश्वरतिर लागे। संसद् भवनभन्दा केही अगाडि आएपछि निषेधित क्षेत्र भन्दै प्रहरी ब्यारिगेटसहित उपस्थित थियो। ‘हाम्रा साथीभाइले तोडिहाले। केही समयपछि कफ्र्यु लागेको कुरा आयो। तर हामीलाई आधिकारिक रूपमा सूचना थिएन। त्यसबेला सूचना पाउने ठाउँ सामाजिक सञ्जाल थिएन प्रहरीले माइकिङ गरेको भएको भए हुन्थ्यो। त्यस्तो पनि भएन।’ त्यसपछि उनकै अगाडि संसद् भवन तोडफोड भयो। ‘हामीले स्वतन्त्र रूपमा आन्दोलन गरेका थियौँ। कसले हाइज्याक गर्‍यो?’ उनी भन्छन्, ‘हामीले जान्न पाउनुपर्छ।’

माजिदले चाहेका भए सांसद पनि बन्ने सक्थे। उनलाई प्रस्ताव नआएको पनि होइन। तर उनी यहीबारे जान्नका लागि अभियन्ता बनेका हुन्। ‘नयाँ सरकार बनेको तीन महिना संघर्ष गर्दा सम्झौता गर्न सफल भयौँ’, माजिद भन्छन्, ‘निरन्तर खबरदारी नगरेसम्म न्याय पाइँदैन। हामी निर्णायक लडाइँमा छौँ।’

माजिद पनि जेनजी आन्दोलन छानबिनका लागि बनाएको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने पक्षमा छन्। ‘जनता जान्न चाहन्छन् भने कोही नेताले प्रतिवेदन नदिएर हुन्छ?’ उनी भन्छन्। प्रतिवेदन सार्वजनिक नभएसम्म विश्राम नलिने उनको अडान छ। आन्दोलनमा घाइते भएका साथीहरू र मृतकका आफन्तले न्याय पाउनुपर्ने उनी बताउँछन्। ‘मलाई सांसद बनेर नम्बरको गेम खेल्न मन छैन। बैसाखी टेकेका र उपचार गराइरहेका साथीहरूलाई न्याय दिनुपर्छ’, माजिद भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast