काठमाडौँ- उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटका क्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।
जेनजी प्रदर्शनको क्रममा भएका घटना छानबिन गर्न गठन भएको आयोगले प्रतिवेदन बुझाइसके पनि सरकारले सार्वजनिक गरेको छैन। त्यस्तै भेटका क्रममा घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाबारे सरकारलाई ध्यानाकर्षण गराएको छ।
उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण शान्तिपूर्ण निर्वाचन सम्भव भएको भन्दै बधाई दिएको प्रधानमन्त्रीको सचिवालयाले जनाएको छ।
आफू संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्ने अध्यक्ष घिसिङले बताए।
‘चुनौतिपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ,’ घिसिङले भने,‘म हारे पनि देशले जितेको छ। तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ। यसैमा खुसी छ। यति महत्वपूर्ण इतिहासको घडमिा मैले पनि केही समय यस सरकारमा रहेको काम गर्न पाएँ। अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु।’
प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै प्रशंसा गरिन्। त्यस्तै सरकारको सफलताका लागि घिसिङले खेलेको भूकाको पनि उनले सराहना गरिन्।
‘तपाईँहरू विभिन्न क्षेत्रका विज्ञहरू पार्टीमा हुनुहुँदो रहेछ,’ उनले भनिन्,‘यस्ता क्रिम अफ द सोसाइटीले मुलुकका निम्ति संसदबाहिरै पनि अझै धेरै काम गर्न सक्छ। एउटै निर्वाचनको नतिजाबाट निरुत्साहित भइहाल्नुहुँदैन। तपाईँहरूले गर्ने काम धेरै छ। अविचिलित रूपमा अगाडि बढनुहोस्, मेरो शुभकामना छ।’




