सरकारलाई रक्षाको अनुरोध : सिंहदरबार मैले जलाएको हो/होइन जानकारी पाउन चाहन्छु, प्रतिवेदन चाहियो

हिमाल प्रेस ७ चैत २०८२ १४:०५ | Saturday, March 21, 2026
8
SHARES
सरकारलाई रक्षाको अनुरोध : सिंहदरबार मैले जलाएको हो/होइन जानकारी पाउन चाहन्छु, प्रतिवेदन चाहियो

काठमाडौँ- नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पुनः प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएकी छिन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले आफू र आफूजस्ता युवाहरूमाथि लागेका गम्भीर आरोपहरूको जवाफ प्रतिवेदन सार्वजनिक गरेर दिन माग गरेकी हुन्।

उनले जटिल अवस्थामा देशको नेतृत्व सम्हालेर निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै वर्तमान समयमा सडक र सामाजिक सञ्जालमा युवाहरूले भोग्नुपरिरहेको दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरेकी छिन्।

अभियन्ता बमले आफूमाथि लागेका आरोपहरूका कारण मानसिक र सामाजिक दबाब झेल्नुपरेको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्, ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन र म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु।’

आफूले फेसबुकको इनबक्स र कमेन्टहरूमा सुरुदेखि नै अपमानजनक व्यवहार र आरोपहरू खेप्दै आएको बताउँदै उनले अब व्यक्तिगत स्पष्टीकरणले मात्र नपुग्ने बताएकी छिन् । पीडितहरूको आवाज चर्को हुने र त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्ने उनको तर्क छ ।

प्रकाशित: ७ चैत २०८२ १४:०५ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast