रास्वपाको महाधिवेशनले सरकारमा देखिएको केटाकेटीपन अन्त्य गरोस् : रक्षा बम [अन्तरवार्ता]

हिमाल प्रेस ७ असार २०८३ २१:३२ | Sunday, June 21, 2026
18
SHARES
रास्वपाको महाधिवेशनले सरकारमा देखिएको केटाकेटीपन अन्त्य गरोस् : रक्षा बम [अन्तरवार्ता]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा पहिलो महाधिवेशन सुरु भएको छ। नयाँ नेतृत्व चयन र नयाँ रणनीति निर्माणका लागि देशभरका रास्वपा नेताकार्यकर्ता चितवनमा भेला भएका छन्। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा असाधारण बहुमत ल्याएको रास्वपाका लागि यो महाधिवेशनलाई पार्टीको नीति र नेतृत्व परिपक्व बनाउने अवसरका रूपमा लिइएको छ। रास्वपाले चुनावमा अप्रत्यासित सफलता पाउनुमा गत वर्ष भदौ २३ र २४ गते सम्पन्न जेनजी युवाको आन्दोलनको विशेष भूमिका थियो। रास्वपाको महाधिवेशनलाई जेनजी पुस्ताले कसरी हेरिरहेको छ? पार्टीको महाधिवेशन, वर्तमान सरकारको कार्यशैलीलगायतका विषयमा जेनजी अभियन्ता एवं नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमसँग गरिएको कुराकानी :

रास्वपाको महाधिवेशन सुरु भएको छ। तपाईँलाई नेतृत्व कस्तो आउला भन्ने लाग्छ?

रास्वपाले पहिलो महाधिवेशन गर्दै छ। हाम्रो देशमा दलको महाधिवेशन समयमा हुनु ठूलो कुरा हुन्छ। रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै महाधिवेशनमा जुटेको देखिन्छ। महाधिवेशन दलको आन्तरिक लोकतन्त्र बलियो बनाउने समय हो। दलभित्रको लोकतन्त्र बलियो बनेमा मात्रै देशको लोकतन्त्र बलियो बन्छ। यो महाधिवेशनले रास्वपाको आन्तरिक लोकतन्त्र बलियो बनाउने काम गरोस्। यही शुभकामना छ।

तपाईँले रास्वपाभित्र आन्तरिक लोकतन्त्र बलियो होस् भन्ने कुरामा जोड दिइरहनुभएको छ। के अहिले पनि रास्वपामा अलोकतान्त्रिक काम भइरहेका छन् भन्ने हो?

अहिलेको सरकारले गरिरहेकै कामबारे हेर्नुहोस् न। सबै लोकतान्त्रिक छन् त? यिनै कुराले पनि रास्वपाको आन्तरिक लोकतन्त्र बलियो बन्नुपर्छ भन्ने मेरो भनाइ हो। हिजो हामी ओली (केपी ओली), देउवा (शेरबहादुर देउवा) लगायतलाई व्यंग्य गर्थ्यौँ। उनीहरूले व्यंग्य पचाउँथे। अहिले कमेडी कार्यक्रममा कसैको क्यारिकेचर गर्दासमेत आपत्ति जनाइन्छ। यस्तो प्रवृत्तिले लोकतन्त्रलाई संकुचित बनाउँदै लैजान्छ। यो महाधिवेशनमा रास्वपाले आन्तरिक लोकतन्त्रबारे मनथन गरोस् र बलियो लोकतन्त्र भएको दल बनोस् भन्ने मेरो कामना हो। मैले यो सन्दर्भमा चाहिँ लोकतन्त्रको कुरालाई जोड दिएकी हुँ।

रास्वपामा पुरानै नेतृत्व दोहोरिने सम्भावना देखिन्छ। उनीहरूबाट के आस गर्ने?

हिजो जनताले रास्वपालाई मत दिए। अब रास्वपा कुशल संगठक बन्नुपर्छ। महाधिवेशन यसकै लागि हुनुपर्छ। तर हिजोका नेताहरूको जस्तो गरेर चाहिँ हुन्न। सम्भवतः रवि लामिछाने सभापति बन्दै हुनुहुन्छ। उहाँ कति कालसम्म सभापति बन्ने हो? हिजोका दलजस्तो १०/२० वर्ष सभापति बन्ने हो? यसो भयो भने त दलको आन्तरिक लोकतन्त्र कुण्ठित हुने खतरा हुन्छ। त्यही कारण रास्वपाले त्यो गल्ती नगरोस्। निष्पक्ष चुनावबाट नेतृत्व चुनोस्। यसै गर्दा मात्र कुशल नेतृत्व चुन्ने काम हुन्छ। चुनाव लड्नसमेत कुण्ठित गरिन्छ भने त आन्तरिक लोकतन्त्र कमजोर हुन्छ।

जेनजी आन्दोलनपछि नेकपा एमाले, कांग्रेससहितका दलहरूले पनि महाधिवेशन गरे। अहिले रास्वपाले पनि गर्दै छ। जेनजी आन्दोलनलाई कुन दलले बढी प्रतिनिधित्व गर्‍यो जस्तो लाग्छ?

दलहरूले महाधिवेशनमा जेनजीलाई प्रमुख मुद्दा बनाए। यसले पनि सबै दलले जेनजीको मुद्दा बोके भन्न सकिन्छ। अर्को कुरा, जेनजी आन्दोलनपछि दलहरूकै सक्रियतामा राजनीतिक समाधान खोज्ने काम भयो। आन्तरिम सरकार बनाउनेदेखि अनेक काम। चुनावमा समेत सबै दलहरू सहभागी भए। यसले पनि सबै दलबाट प्रतिनिधित्व गरे भन्न सकिन्छ। तर मुद्दा बोक्न भन्दा पनि काम कसले कति गरे भन्ने मुख्य हो। अहिलेसम्मको स्थिति नियाल्दा जेनजी आन्दोलनप्रति कांग्रेस र रास्वपा सकारात्मक छ। तर कतिपय दलले भने जेनजी आन्दोलनलाई सामाजिक प्रतिष्ठा बनाउँदै भोट तान्ने मेलो बनाएको पनि देखियो।

जेनजी आन्दोलनमा जेनजी एक थिए, तर आन्दोलनपछि विभाजित हुँदा पनि आन्दोलन कमजोर बनेको हो?

आन्दोलनमा जाँदा लोकतन्त्र र सुशासनको म्ुद्दा थिए। त्यहाँ कुनै आइडोलोजी थिएन। सबैको साझा मुद्दा रहेकाले एक भइयो। त्यसपछि मात्र आइडोलोजीको कुरा आयो। हामी सबै क्षेत्रमा अब्बल व्यक्ति÷नेतृत्व चाहिन्छ भन्ने भएर कोही सदनतिर कोही अभियानतिर लाग्याँै। दलबाट गएकाले सरकारको नेतृत्व गर्ने भए भने सडकमा रहेकाले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भए। यसैले पनि हामी बाँडिएका हौँ। मलाई सबैले हरेक क्षेत्रमा नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ। हामीले गरेको पनि त्यही हो।

तपाईँ दल र लोकतन्त्रप्रति विश्वस्त देखिनुहुन्छ। तर तपाईँ नै दलमा नगएर अभियानमा हुनुहुन्छ। आफैँले नेतृत्व लिने ठाउँमा हुनुपर्नेमा किन खबरदारीमा सीमित हुनुहुन्छ?

मलाई म वा अर्को भन्ने कुरामा विश्वास लाग्दैन। मलाई सबैभन्दा बढी विश्वास सिस्टमको लाग्छ। देश निर्माण गर्न कसैले पनि एक्लै सक्दैन। सिस्टमअनुसार हो भने चाहिँ सकिन्छ। सिस्टम सही नभए म आफैँ गए पनि काम गर्न सकिन्न।

त्यो त सैद्धान्तिक कुरा भयो। तर तपाईँलाई दलप्रति विश्वस्त हुनुहुन्छ र दल नै लोकतन्त्रका खम्बा हुन् भन्ने लाग्छ भने दलमै संलग्न हुनु उपयुक्त होइन?

म भन्दैछु नि, सिस्टम गलत परे केही गर्न सकिन्न। दलका नेतृत्व लिनेहरूले अहिले उहाँहरूकै भूमिकामा हुनुहुन्छ। म त्यो ठाउँमा छैन। म अहिले प्रश्न गर्ने ठाउँमा छु। यसैले मलाई यो ठाउँ उपयुक्त छ जस्तो लाग्छ। हामी अहिले खबरदारी गर्ने ठाउँमा छौँ। सरकारका कामको सशक्त खबरदारी गर्ने हो। समग्रमा हामीले जे भए पनि देशकै विकास गर्ने त हो। यसमा यो वा त्यो भन्ने होइन। हामी सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ। सरकार सन्चालन गर्नेले त्यही गर्ने हो भने सदनमा हुनेले पनि आफ्नै भूमिका निर्वाह गर्ने हो।

अहिलेको सरकारले अलोकतान्त्रिक काम गरिरहेको भन्दै हुनुहुन्छ। सरकारले कामचाहिँ कस्तो गरिरहेको छ त?

जनताले बहुमत दिलाएर पठाएको दल हो रास्वपा। तर जुन किसिमको जनमत थियो, त्यस किसिमको काम भएको छैन। कतिपय ठाउँमा त केटाकेटीपन जस्तो देखिन्छ। यो महाधिवेशनबाट रास्वपाले केटाकेटीपन हटाउने काम गरोस् भन्ने चाहन्छु। हिजोका दलहरूले जे गल्ती गरे, त्यो गल्ती गर्ने वा दोहोर्‍याउने छुट अहिलेको सरकारसँग छैन। यसैले पनि आफू जिम्मेवार भएर काम गरोस् भन्न चाहन्छु।

जेनजी अभियन्तालाई समेत सरकारले अपमानित गर्न थालेको अनुभव भएको हो?

त्यसो होइन। पहिल्यैदेखि नै सरकारले हामी जेनजी अभियन्तालाई दलविरोधी भनेर ट्याग लगाउने काम गरेको छ।

सरकारको बुझाइमा जेनजी शक्ति हुन् भन्ने पर्न छाडेको हो?

त्यो त सरकारले कसरी लिएको छ जान्न सकिन्न। हामी पनि शक्तिभन्दा पनि नागरिक समाजजस्ता हँौ भनेर बुझाइरहेका छौँ। हिजो यो कुरा बुझाउन कठिन थियो। अहिले बिस्तारै बुझ्ने क्रममा पुगिएको छ।

प्रकाशित: ७ असार २०८३ २१:३२ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast