काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र कतारले साझा रूपमा प्रयोग गर्ने दक्षिण पार्स ग्यास क्षेत्रमा भएको आक्रमणपछि निकै कडा प्रतिक्रिया दिएका छन्।
इजरायलले उक्त ग्यास क्षेत्रमाथि आक्रमण गरेपछि इरानले कतारको ऊर्जा संरचनामा प्रतिकारस्वरूप हमला गर्यो। यस घटनाले विश्वभर तेल र ग्यासको मूल्य बढायो र अन्तर्राष्ट्रिय तनाव थप चर्कियो।
त्यसपछि ट्रम्पले सामाजिक सञ्जाल तुथ सोसलमार्फत प्रतिक्रिया दिँदै इरानलाई चेतावनी दिएका छन्। उनले आफूलाई इजरायलको योजनाबारे कुनै जानकारी नभएको बताएका छन्।
तर ट्रम्पको हामीलाई केही थाहा थिएन भन्ने दाबीमाथि प्रश्न उठेको छ। इजरायलका केही सञ्चारमाध्यमले भने यो आक्रमण अमेरिका र इजरायलबीचको पूर्वसमन्वयमा भएको दाबी गरेका छन्।
येडियोथ अह्रोनोथले यो आक्रमण अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच सहमतिमा भएको उल्लेख गरेको छ भने इजरायल हायोमले ट्रम्पले खाडी देशका नेताहरूसँग यसबारे छलफल गरेको जनाएको छ।
यसले वास्तविकता के हो भन्ने अझै स्पष्ट नभएको देखाउँछ। ट्रम्पले आक्रमणलाई रिसको कारणले गरिएको हिंसात्मक प्रतिक्रिया भनेर वर्णन गरेका छन्।
यसैबीच, ट्रम्पले अब इजरायलले उक्त ग्यास क्षेत्रमा थप आक्रमण नगर्ने बताएका छन् तर यदि इरानले फेरि कतारमाथि हमला गर्यो भने अवस्था बदलिन सक्ने चेतावनी दिएका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने उक्त आक्रमण इजरायलले एक्लै गरेको र ट्रम्पले यस्ता आक्रमण रोक्न आग्रह गरेको बताएका छन्।
उनले अमेरिका र इजरायलबीच राम्रो समन्वय रहेको दाबी गरे पनि व्यवहारमा केही मतभेद देखिएको संकेत पाइन्छ।
दुवै देश इरानको सैन्य क्षमता कमजोर बनाउने र यसको क्षेप्यास्त्र तथा आणविक कार्यक्रम नियन्त्रण गर्ने विषयमा सहमत देखिन्छन्। तर इजरायल दीर्घकालीन रूपमा इरानको शासन परिवर्तन चाहन्छ भने अमेरिका तत्कालको सैन्य सफलता र विजय घोषणातर्फ बढी केन्द्रित देखिन्छ।
पूर्व अमेरिकी दूत डेभिड सेटरफिल्डका अनुसार ट्रम्प व्यावहारिक उपलब्धि खोजिरहेका छन्, जबकि नेतन्याहु इरानको शासन कमजोर पार्ने वा ढाल्ने लक्ष्यमा छन्।
ट्रम्पले आफ्नो वक्तव्यमा कतार आक्रमणमा संलग्न नभएको तर इरानले त्यो कुरा नबुझी प्रतिकार गरेको उल्लेख गरेका छन्। साथै, यदि इरानले फेरि कतारको ग्यास संरचनामा आक्रमण गरेमा अमेरिका अत्यन्त ठूलो शक्ति प्रयोग गरेर उक्त ग्यास क्षेत्र ध्वस्त पार्ने चेतावनी पनि दिएका छन्। उनले इजरायलको सहमति बिना पनि यस्तो कदम चाल्न सक्ने संकेत दिएका छन् जसलाई केहीले नेतन्याहुप्रति अप्रत्यक्ष चेतावनीका रूपमा व्याख्या गरेका छन्। बीबीसी






