अन्तर्वार्ता

यूएईका राजदूत क्षेत्रीलाई प्रश्न- अहिले नेपालीहरूको अवस्था कस्तो छ?

हिमाल प्रेस ५ चैत २०८२ २१:२९ | Thursday, March 19, 2026
34
SHARES
यूएईका राजदूत क्षेत्रीलाई प्रश्न- अहिले नेपालीहरूको अवस्था कस्तो छ?

बीस दिनदेखि इरानमाथि इजरायल र अमेरिकाको आक्रमण जारी छ। इरानको जवाफि पनि उस्तै छ। जसले गर्दा पश्चिम एसिया अर्थात् खाडी क्षेत्रमा तनाव बढेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) लगायत खाडी क्षेत्रका नेपालीहरूमा चासो र चिन्ता बढाएको छ। खाडी मुलुकमा नेपाली श्रमशक्तिको उपस्थितिले नेपालको अर्थतन्त्र धानिरहेको छ। त्यसमध्ये पनि यूएई नेपालीहरूको प्रमुख गन्तव्य हो, जहाँ पाँच लाख भन्दा बढी र खाडी क्षेत्रमा १५ लाख बढी नेपाली कार्यरत छन्।

अहिले खाडी अशान्त मात्र होइन, सुरक्षाका दृष्टिले पनि सुरक्षित छैन। किनकि यूएईमा मात्र इरानले दुईहजार भन्दा बढी आक्रमण यो २० दिनमा गरिसकेको छ। एक नेपालीको मृत्यु भइसकेकाे छ भने कैयन् नेपाली घर फर्कन चाहेका छन्। उनी अहिले यूएईमा अनुभवी कूटनीतिज्ञ राजदूतका रूपमा छन्। उनी बेलायत, भारत र चीन (तिब्बत)मा नेपालको प्रतिनिधित्व गरेर काम गरिसकेका कूटनीतिज्ञ हुन्। उनै अनुभवी राजदूत तेजबहादुर क्षेत्रीसँग  वर्तमान सन्दर्भमा खाडीको अवस्था र नेपाली कामदारको मनस्थिति बुझ्न हिमाल प्रेसले गरेको कुराकानी।

इरानमाथि आक्रमणपछि यूएई र आसपासको सुरक्षा अवस्था कस्तो छ?

तपाईंहरू जानकार नै हुनुहुन्छ, यूएईभित्र इरानबाट ड्रोन र मिसायल आक्रमण भएका छन्। खासगरि अमेरिकी सैन्य शिविरहरूका साथै आसपासमा ड्रोन र मिसायल आक्रमण भए पनि बलियो प्रतिरक्षा प्रणालीका कारण अबुधाबी, दुबई लगायत सबै प्रमुख सहरहरूमा जनजीवन सामान्यरूपमा चलिरहेको छ। तर क्षेत्रीय रूपमा उच्च सतर्कता अपनाइएको छ। एयरस्पेस व्यवस्थापन, सुरक्षाकर्मी परिचालन र संवेदनशील स्थानहरूको निगरानी बढाइएको छ। केही छिमेकी क्षेत्रमा तनाव देखिए पनि यूएईमा सरकारले स्थिति नियन्त्रणमा राखेको छ। खास गरी यूएईभित्र रहेकाे अमेरिकी शिविरमा ताकेर प्रहार गरेको भन्ने हामीले पनि पढेका छौँ। तर यथार्थ के हो भन्ने विषय यहाँको सरकारको औपचारिक धारणा पछि भन्न सकिन्छ। र भनिरहेका छौँ। यहाँको सुरक्षा निकायको कामलाई नियाल्दा मुलुक सुरक्षित नै छ तर कहिलेकाहीँ केही स्थानमा छलेर आक्रमण भएका छन्।

उसो भए यूएईमा यस प्रकारका आक्रमणबाट खासै क्षति भएको  छैन्?

अहिलेसम्म यूएईभित्रको आक्रमण अमेरिकी शिविरलाई नै निशाना बनाएको देखिन्छ। यद्यपि क्षेत्रीयस्तरमा मिसाइल तथा ड्रोन गतिविधिका समाचारहरू आएका कारण यहाँका सुरक्षाकर्मी पूर्ण तयारीमा छन्। त्यही क्षेत्रीय आक्रमणका कारण एक नेपालीसहित आठको ज्यान गएको घटनामा यहाँहरू जानकार हुनुहुन्छ। त्यसैले हामीले पनि नेपाली समुदायलाई ‘सतर्क तर नआत्तिने’ नीति अपनाउन आग्रह गरेका छौँ। ८ जनाको ज्यान नै गएको अवस्था छ। कसरी क्षति नभन्नु र! यद्यपि उनीहरूले आफ्ना नागरिकलाई जसरी सुरक्षा दिएका छन्, हाम्रालाई पनि उसै गरी सुरक्षा दिन्छन्। त्यसैले यसमा हामीले नै आफ्ना नागरिकलाई बुझाउने हाे।

त्यहाँ रहेका नेपालीहरूको अवस्था अहिले कस्तो छ?

यूएईमा रहेका नेपालीहरू सुरक्षित छन्। कामकाज नियमितरूपमा भइरहेको छ। तर मनोवैज्ञानिक रूपमा केही त्रास भने देखिएको छ- विशेष गरी सामाजिक सञ्जालमा आएका अपुष्ट खबरका कारण। अनेकन् अफवाहहरू आउने हुनाले परिवारको चिन्तामा उनीहरू पनि चिन्तित भएका छन्। हामीले दूतावासमार्फत निरन्तर सूचना दिइरहेका छौँ र समुदायसँग सम्पर्कमा छौँ। कसैलाई केही समस्या परे हटलाइन वा राजदूत वा अधिकारीलाई तत्काल फोन गर्न आग्रह गरेका छौँ। सूचनाहरू दिइरहेका छौँ। हामीले यहाँका सूचनालाई नेपालीमा बनाएर पनि राखिरहेका छौँ। नेपालीहरूले पनि एआईबाट बनेका भिडियो अनि अन्य अफवाहको पछि नलागी यहाँकाे सरकार, नेपाली दूतावास र गैर आवासीय नेपाली संघले दिएका सूचनालाई आधार बनाउन आवश्यक छ।

घुम्न गएका नेपालीहरू कति प्रभावित भए? कोही फसेका छन् कि?

पछिल्लो समय नेपालीहरूकाे गन्तव्यमा पर्ने सहर नै हो दुबई र अबुधाबी अनि आसपास। प्याकेज बनाएर घुम्न आउने वा आफ्ना परिवारसँग समय बिताउन आउने पनि छन्। यसरी आउने केही नेपाली पर्यटकहरू यूएई तथा आसपासका क्षेत्रमा अचानक भएको घटनाले रोकिन परेको थियो। केही नेपालीहरू ट्रान्जिटमा परेर पनि अल्झिनु भएको पनि पाइएको थियो। सबै जनालाई विभिन्न ठाउँको रुट मिलाएर फर्काउने काम भएको छ। यसमा दूतावाससँगै एअरलाइन्सहरुले पनि आन्तरिक गृहकार्य गरेका थिए। अहिले अल्झिएर रहेका नेपाली हुनुहुन्न। हवाई उडानहरूमा आंशिक अवरोध र रुट परिवर्तनका कारण परेकाे समस्या समाधान भएका छन्। कोही पनि नेपाली गम्भीर रूपमा फसेको अवस्था छैन। धेरैजसोलाई वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइएको छ। अहिले पनि कुनै समस्या आए वा कसैले समस्या परेको सुनाएमा दूतावासले आवश्यक समन्वय गरेर सहयोग गरिरहेको छ। हामी हाम्रा नागरिकको सेवाका लागि सधैँ तयार छौँ।

दूतावासले नेपालीका लागि कस्ता तयारीहरू गरेको छ?

हामीले इमरजेन्सी सम्पर्क प्रणाली सक्रिय गरेका छौं। हेल्पलाइन, अनलाइन सूचना र समुदायिक नेटवर्कमार्फत जानकारी प्रवाह भइरहेको छ। परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर विभागले एपमार्फत नेपालीको सूची तयार गरेको विषयमा यहाँहरु जानकार नै हुनुहाेला। आवश्यक परेमा उद्धारयोजना समेत तयारी अवस्थामा छ। हामीले रोजगारदाता कम्पनीहरूसँग पनि समन्वय बढाएका छौँ। यसले गर्दा नेपाली समस्यामा परेकै अवस्था छैन। यहाँ त्रास भने बढेको छ। २० दिन हुँदा समेत टसमस नदेखिएको भन्दै फोन गर्नुहुन्छ। यस विषयमा के भन्ने र? शक्ति राष्ट्र नै यसमा छ। नेपाल सरकारले वार्ताबाट समस्या समाधान गर्न भनिसकेको छ। हामी शान्ति भूमिका मानिस हामीले विश्वशान्तिको कामना गर्ने हो। विश्व शान्तिका लागि राष्ट्रसंघ मार्फत पनि हामीले योगदान गरिरहेका छौँ। यहाँ रहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरुलाई नआत्तिकन बस्न र यहाँको सरकारले अबलम्बन गरेका नीति पछ्याउन आग्रह गरेका छौँ। यस्तो समयमा संयमता  अपनाउने र अनुशासित हुने नै हो। हतारियर आत्तिएर मात्र हुँदैन भन्दै सम्झाउने बुझाउने समेत गरेका छौँ।

यूएई र नेपाल सरकारबीच समन्वय र तयारी कस्तो छ?

हामी निरन्तर हाम्रो परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा छौं। भने यहाँकाे परराष्ट्रसँग पनि उत्तिकै सम्पर्कमा छौँ। स्थिति अनुसार आवश्यक निर्णय लिनका लागि उच्च तहमा समन्वय भइरहेको छ। कुनै पनि आकस्मिक अवस्था आएमा तत्काल प्रतिक्रिया दिने भन्दा पनि काम गर्ने गरि तयारी भइरहेको छ। कति पय अवस्थामा भने कसैले केही गरेर पनि सबै नेपालीलाई मुलुक एकै पटक फर्काउन सक्ने कुरा भएन। सबै फर्कन चाहनुहुन्छ भन्ने पनि भएन। तर केही नेपालीहरू भने घर फर्कन तयार छन्। यस्ताे अवस्थामा टिकटको मूल्य बढ्नु, खानाको मूल्य बढ्नु स्वाभाविक हाे। किनकी यस्तो समयमा उडान नियमित हुँदैन। रुट लम्बिएको हुन्छ। हवाई टिकटमा मात्र होइन सबै  क्षेत्रमा  महँगी बढेको छ। तर बजार खुला छ, दैनिक कार्यहरू भइरहेका छन्। यसैले भित्र युद्धको बाछिटा आएझैँ त लाग्दैन। तर बम खस्दा वा रोक्दा आउने अलर्टले भने डर बढाउने रहेछ।

अहिलेको अवस्थामा यूएईमा रहेका र घर फर्कन चाहने नेपालीलाई तपाईंको सन्देश के छ?

सबैभन्दा महत्त्वपूर्ण कुरा, आधिकारिक सूचनामा मात्र विश्वास गर्नुहोस्। सामाजिक सञ्जालतिर आएका ‘फेक’ कुरा भन्दा दूतावासकाे वेबसाइटमा रहेका कुराहरू पत्याउने, आशंका लागे दूतावासमा फाेन गरेर सोध्ने जस्ता क्रियाकलाप गर्नु आवश्यक छ। अनावश्यक अफवाहले त्रास बढाएको देखिन्छ। त्यसमा सचेत हुनुपर्छ। यात्रा गर्नुअघि आफ्नो उडान र अवस्थाबारे जानकारी लिएर मात्र निस्कने गर्नुपर्छ। र, कुनै समस्या परे तुरुन्त दूतावाससँग सम्पर्क गर्न धेरै आवश्यक देख्छु। हामी नेपालीहरूकै लागि भनेर यहाँ रहेका हौँ। हाम्रा दाजुभाइ दिदीबहीनीलाई सहयोग गर्न दूतावास पूर्णरूपमा तयार छ। हामी सधैँ यहाँहरूकै साथमा रहेकाे सन्देश दिन चाहन्छु।

प्रकाशित: ५ चैत २०८२ २१:२९ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast