पोखरा- नेपाल हवाई खेलकुद संस्था (ना) आयोजनामा पोखरामा बिहीबारदेखि नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ। ५ वर्षपछि पुनः निरन्तरता दिइएको २१ औं संस्करणको सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ।
प्रतियोगिताको एक समारोहबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। उनले पोखरेली पर्यटनको मेरुदण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई नियमित सञ्चालनका लागि विभिन्न पहल गरिएको बताए। अन्तर्राष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने अवस्थामा पुगेको प्याराग्लाइडिङ उडानलाई पुनः सञ्चालन गर्ने सन्दर्भमा विभिन्न चरणहरूमा समाधानकेन्द्रित छलफल गरिएको जानकारी दिए।
पर्यटकीय राजधानी पोखरा भ्रमणमा आउने अधिकांश पर्यटकहरूको प्रमुख रोजाइमा पर्ने गरेको प्याराग्लाइडिङ उडान अझ व्यवस्थित बनाउन व्यवसायीहरूलाई उनले आग्रह गरे। सुरक्षालाई मजबुत बनाउँदै पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे। पोखरा साहसिक गतिविधिका कारण परिचित रहेको उल्लेख गर्दै यसको गरिमा कायम राख्न आग्रह गरे।
प्रतियोगितामा नेपालसहित विभिन्न ७ देशका गरी करिब ९० जना पाइलटले भाग लिएका छन्। तीमध्ये १४ जना महिला छन्। प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनानका खेलाडीले भाग लिएका हुन्। सराङकोटबाट टेकअफ भएका ग्लाइडरहरु फेवाताल किनारस्थित खपौदी क्षेत्रमा ल्याण्ड हुनेछन्।

प्रतियोगिताको एक्युरेसी विधामा पुरुष र महिलातर्फ प्रथमलाई १ लाख ५० हजार, द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार साथमा मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिने खेल संयोजक सुनिलबहादुर भट्टराईले जनाए। यसैगरी, समूहगतर्फ प्रथमलाई ७५ हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार साथमा मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा करिब ३० लाख खर्च हुने आयोजकको अनुमान छ।
आयोजक नाका अध्यक्ष अनिल केसीले खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल प्लाराग्लाइडिङ पाइलट्स क्लब, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपापालिका, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा पर्यटन परिषद्लगायतका संघसंस्थाले सहयोग गरेका छन्।

टेक्निकल डाइरेक्टर योगेश भट्टराईले प्रतियोगितामा खेलभन्दा पनि जीवन सुरक्षालाई ध्यान दिइने बताए। केही वर्षअघि १८ औं एशियाली खेलकुद प्रतियोगितामा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेर नेपालको नाम चम्काएको थियो।
नेपाल हवाई खेलकुद संस्थाले एफएआई क्याटगोरी मान्यताप्राप्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिप तथा नेपालमा प्याराग्लाइडिङ वर्ल्ड कपको तयारीस्वरुप प्याराग्लाइडिङ प्रि-वर्ल्ड कप, एसियन कन्टिनेन्टल प्याराग्लाइडिङ च्याम्पियनसिप पनि गरिसकेको छ।





