काठमाडौँ- पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।
नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन्।
पर्यटन बोर्डका वरिष्ठ प्रवन्धक सूर्य थपलियाले पर्यटन पूर्वाधार र सेवा सुदृढीकरणलाई प्रभावकारी बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको जानकारी दिए।
उनले नयाँ सवारी साधनको उपलब्धतासँगै पर्यटक प्रहरीको सेवा प्रवाह अझ तीव्र र प्रभावकारी हुने उल्लेख गरे।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसले पर्यटन क्षेत्रमा आकस्मिक उद्धार तथा संकट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।





