इरान-इजरायल-अमेरिका युद्धको असर तेल बजारमा

हिमाल प्रेस २७ फागुन २०८२ १५:२७ | Wednesday, March 11, 2026
12
SHARES
इरान-इजरायल-अमेरिका युद्धको असर तेल बजारमा

दुबई- मध्यपूर्व क्षेत्रमा जारी युद्धका बीच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाइरहेको छ। यसले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढ्दै गएको छ। बुधबार बिहान इजरायल र इरानबीच पुनः आक्रमण भएको खबर सार्वजनिक भएको छ।

यसैबीच इरानले क्षेत्रका तेल उद्योगसँग सम्बन्धित संरचनाहरूलाई लक्षित गर्दै विभिन्न गतिविधि तीव्र बनाएको बताइएको छ। विश्लेषकहरूका अनुसार इरानले यस्तो रणनीति अपनाएर विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्दै इजरायल र अमेरिकामाथि आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन खोजेको हुन सक्छ।

इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज जलडमरूमा जहाज आवागमनमा प्रभाव पारिरहेको छ। विश्वको करिब पाँच भागमध्ये एक भाग तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले यस क्षेत्रमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ।

बुधबार बिहान ओमानको तट नजिकै हर्मुज जलडमरूमा एउटा कन्टेनर जहाजमा प्रहार हुँदा जहाजमा आगलागी भएको थियो।आगो नियन्त्रण बाहिर गएपछि जहाजका कर्मचारीहरूलाई जहाज छाडेर सुरक्षित स्थानमा जान बाध्य भएको जनाइएको छ।

यसैबीच कुवेतले आफ्नो हवाई सुरक्षाले इरानबाट आएका आठवटा ड्रोन खसालिएको जनाएको छ। साउदी अरबले पनि आफ्नो सायबह तेल क्षेत्रमा लक्षित पाँचवटा ड्रोनलाई बाटोमै रोकेको जानकारी दिएको छ। यी घटनाले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमाथि खतरा बढेको संकेत गरेको छ।

यस परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार बैठक बस्ने तयारी गरेको छ। खाडी सहयोग परिषद्ले प्रस्तुत गरेको प्रस्तावमाथि मतदान हुने बताइएको छ। उक्त प्रस्तावमा इरानले आफ्ना अरब छिमेकी राष्ट्रहरूलाई लक्षित गर्दै भइरहेको आक्रमण रोक्नुपर्ने माग गरिएको छ।

मध्यपूर्वमा जारी तनावका कारण विश्व ऊर्जा बजार अस्थिर बन्न सक्ने र तेलको मूल्यमा उतारचढाव बढ्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरिएको छ। विश्लेषकहरूका अनुसार यदि हर्मुज जलडमरूमा अवरोध लामो समयसम्म जारी रह्यो भने विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्छ। रासस/एपी

प्रकाशित: २७ फागुन २०८२ १५:२७ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast