ललितपुर- राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन्।
सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले १९८९ मा व्यक्तिगत रूपमा स्थापन गरी सञ्चालनमा ल्याएका थिए। पछि उक्त चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो।
चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने तथा जंगलबाट उद्धार गरेर ल्याइने गरेकाले सङ्ख्या घटबढ हुने गरेको छ।
यहाँ सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षको ‘पवनकली’ नामक हात्ती रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए। उनका अनुसार हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ।
चिडियाखानामा रहेका चार वटा बाघमध्ये सबैभन्दा बढी उमेरको १५ वर्षको ‘बगौरा’ रहेको कोइरालाले जानकारी दिए। उनका अनुसार तीन वटा गैँडामध्ये सबैभन्दा बढी उमेरको १४ वर्षको ‘बाङ्गे’ छ भने अन्य जीवजन्तु विभिन्न उमेर समूहका रहेका छन्।
कम आयु भएका जीवमा मुसा पर्दछन्। मुसाको औसत आयु पाँचदेखि ६ वर्षसम्म हुने सूचना अधिकारी कोइरालाले जानकारी दिए। चिडियाखानामा मुसा र खरायोजस्ता साना जनावर उत्पादन गरी हप्तामा एकपटक अजिङ्गरलाई आहाराका रूपमा दिने गरिएको उनले बताए।
उनका अनुसार अजिङ्गरलाई कहिलेकाहीँ प्राकृतिक (टेस्ट) आहारा दिनुपर्ने भएकाले चिडियाखानामा उत्पादन भएका मुसा र खरायो दिने गरिन्छ। सोही कारणले जीवजन्तुको सङ्ख्यामा केही तलमाथि देखिने गर्दछ। यहाँ रहेका जीवजन्तु बिरामी परेको थाहा पाएपछि उनीहरूलाई छुट्टै क्वारेन्टाइनमा राखेर चिकित्सकहरूले उपचार गर्ने व्यवस्था गरिएको छ।
केही जीवजन्तुले प्रजनन गरे पनि धेरैजसो जनावरले बसोबास गर्ने वातावरण पूर्ण रूपमा उपयुक्त नहुँदा प्रजनन कम हुने गरेको चिडियाखाना प्रशासनले जनाएको छ। प्राकृतिक रूपमा जङ्गलको वातावरण उनीहरूका लागि प्रजननका लागि बढी अनुकूल हुने बताइएको छ।





