पोखराका मेयर आचार्यले महावीर पुनलाई पढाए सांसदको भूमिका

हिमाल प्रेस २७ फागुन २०८२ १०:४४ | Wednesday, March 11, 2026
20
SHARES
पोखराका मेयर आचार्यले महावीर पुनलाई पढाए सांसदको भूमिका

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई सांसदको भूमिकाको पाठ पढाएका छन्। सांसदको भूमिका पुस्तक बिक्री गर्ने नभई देशका लागि नीति र कानुन निर्माण गर्ने भएको मेयर आचार्यले बताए।

म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित पुनले गत सोमबार पोखराको सडक किनारमा उभिएर पुस्तक बिक्री गर्ने क्रममा विवाद भएको थियो।

पोखराका मेयर आचार्यले पुनलाई सांसदको भूमिकाको पाठ पढाउँदै बुधबार फेसबुकमा लेखेका छन्,‘माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्रीवितरण गर्ने हो।’

उनले सांसद पुनलाई पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गरेर भुक्तानी उपलब्ध गराउने पनि भनेका छन्। ‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं,’ आचार्यले लेखेका छन्।

उनले हालसम्म बिक्रीवितरण भएको पुस्तकको विवरण सार्वजनिक गर्न सकिए पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्ने उल्लेख गरेका छन्।

यस्तो छ मेयर आचार्यको भनाइ

ध्यानाकर्षण !!
माननीय महावीर पुनज्यू,
हार्दिक नमस्कार।
सर्वप्रथम, अत्यधिक मतसहित विजयी हुनुभएकोमा हार्दिक बधाई तथा आगामी कार्यकालको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यहाँको देश र समाजप्रतिको समर्पण, सादगीपन र पवित्र उद्देश्यप्रति हामी सबैको उच्च सम्मान छ। नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभरि घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहनु भएको कार्य सराहनीय छ। वास्तवमा, तपाईंको अभियानलाई सहयोग गर्ने भावनाले नै धेरैले उत्साहपूर्वक पुस्तक खरिद गरिरहेका छन्।
तर, बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ। पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवाल–जवाफ भएको देखिएको छ, जुन तपाईं जस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था होइन।
आज तपाईं केवल महावीर पुन मात्र नभई देशले सम्मान गरेको एक आदरणीय व्यक्तित्व र सार्वजनिक नेतृत्वको स्थानमा हुनुहुन्छ। देशभर करिब १८ हजार पुस्तक व्यवसायी छन्, जो राज्यका विभिन्न निकायमा दर्ता भई लेखकहरूका पुस्तक बिक्री–वितरण गर्दै आएका छन्।
यदि तपाईं पोखरा आउने समय दिनुहुन्छ भने, पुस्तक व्यवसायी महासंघमार्फत तपाईंलाई सहज र उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री–वितरणमा सहयोग गर्न सकिनेछ। यसले तपाईंको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिएका छौँ।
फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईंमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन। त्यसैले माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक ब्यबसायिको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो। यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने, हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ।
साथै हालसम्म कति पुस्तक बिक्री–वितरण भयो भन्ने विवरण सार्वजनिक गर्न सकिएमा पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्नेछ।
पुनः, तपाईंको अभियान र उद्देश्यप्रति हाम्रो उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको जानकारी गराउन चाहन्छौँ।
धनराज आचार्य
पोखरा ।
प्रकाशित: २७ फागुन २०८२ १०:४४ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast