काठमाडौँ- संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनका पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकै खुम्चिएको छ। २०७९ मा प्रत्यक्षतर्फ सात सिट चुनाव जितेको राप्रपा यसपटक एक सिटमा सीमित भएको हो। त्यति बेला समानुपातिकतर्फ ७ सिट पाएको राप्रपाले यसपटक बढीमा चार सिट मात्र पाउने देखिएको छ।
अघिल्लो चुनावमा राप्रपाबाट १४ जना निर्वाचित भएका थिए। त्यसबेला राप्रपामा राजेन्द्र लिङ्देन, दीपक बोहोरा, धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, दीपक सिंह, विक्रम पाण्डे, ध्रुबवहादुर प्रधान प्रत्यक्षबाट चुनिएका थिए भने पशुपति शमशेर, बुद्धिमान, रोशन कार्की, गीता बस्नेत, विना लामा, विना जयसवाल, अनिशा नेपाली समानुपातिक सांसद थिए। तर अहिले प्रत्यक्षतर्फ जुम्लाबाट ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) मात्र निर्वाचित भएका छन्।
यता समानुपातिक मत पनि राप्रपाले समानुपातिकतर्फ तीन लाख ३० हजार ३८६ मत पाएको छ। २०७९ को चुनावमा राप्रपाले ५ लाख ८८ हजार ८४९ मत ल्याएको थियो। २०७४ मा पनि एक सिटमा सीमित राप्रपाले २०७९ मा उल्लेखीय प्रगति गर्दै सिट संख्या बढाएको थियो। २०७४ मा राप्रपाले १ लाख ९६ हजार ७८२ समानुपातिक मत पाउँदा प्रत्यक्षमा झापा ३ बाट लिङ्देन विजयी बनेका थिए। तर २०८२ को निर्वाचनमा प्रत्यक्षतर्फ २०७४ कै जति मात्र सिट राप्रपाले जित्न सक्यो।
निर्वाचन परिणाम कमजोर आएपछि पार्टीभित्र आन्तरिक समीक्षा सुरु भएको छ। जनतामा स्पष्ट एजेन्डासहित प्रस्तुत हुन नसक्नु, चुनावको मुखमा कमल थापालाई भित्र्याउनु, पार्टीमा आन्तरिक किचलो बढ्दै जानु जस्ता कारणले जनमत आफ्नो पक्षमा नआएको बुझाइ नेताहरूको छ। राप्रपाले प्रत्यक्षतर्फ नै ५ देखि ७ सिट र समानुपातिकमा १५ लाख हाराहारी मत ल्याउने अनुमान गरेको थियो। तर राप्रपालाई राष्ट्रिय पार्टी बन्ने ३ प्रतिशत थ्रेसहोल्ड बन्न समेत हम्मेहम्मे पर्यो।
अहिले राप्रपाभित्र चुनावका बारे अनेक कुरा बाहिर आइरहेका छन्। नेतृत्वले राजीनामा दिनुपर्ने, राजावादी एजेन्डामा गम्भीर नभएको देखि पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन अवज्ञा गरेको सम्म आरोप लागेको छ। यति सम्मकी राप्रपाभित्र अहिले एकपक्षले अर्कोपक्षबीच गालीगलौज गर्नेदेखि आमचाकरी लेख्ने सम्म भएको छ। राप्रपाको साइज घट्नुमा आन्तरिक कारण पनि प्रदान हुँदै आएको छ। सधैको कलहले जनतामा विश्वास घटेको नेताहरू बताउँछन्। राप्रपा केन्द्रीय सदस्य रन्जन कार्की राजाको एजेन्डा कमजोर हुँदा मत कम खसेको बताउँछन्। ‘राजाको एजेन्डा कमजोर हुँदै गयो।’ उनी थप्छन्,‘पार्टी यसरी चल्दैन। अब नेता, पार्टी र चुनाव चिह्नसमेत फेरेर अघि बढ्नुपर्छ’, राप्रपा नेता कार्की भन्छन्।
त्यसो त राप्रपा नेताहरू नै आफूहरू एजेन्डाप्रति प्रतिबद्ध नभएको स्वीकार्छन्। ‘हाम्रो एजेन्डाप्रति हामी प्रतिबद्ध भएनौँ’, राप्रपा महामन्त्री डा.धवलशमशेर राणा भन्छन्, ‘हाम्रो जे एजेन्डा हो, त्यसअनुसार काम हुनुपर्यो।’ विगतमा राप्रपाले प्रदेश खारेजीको एजेन्डा अघि सारेको थियो तर प्रदेशमै चुनाव लड्यो। राप्रपाबाट प्रदेशमा सभामुखदेखि मन्त्रीसमेत चुनिए।
कमल थापा चुनावभन्दा केही समयअघि मात्रै राप्रपामा विलय भएका थिए। चुनावअघि थापा-लिङ्देन मिलनलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। काठमाडौँ ५ बाट चुनाव लडेका थापाले जमानत जोगाउन सकेनन्। उनी यसअघि मकवानपुरबाट चुनाव लड्दै आएका थिए। गृहजिल्ला मकवानपुर छाडेका थापाले पराजयमा ह्याट्रिक गरे।
राप्रपा अध्यक्ष लिङ्देनको पनि सांसद बन्ने प्रयास सफल भएन। अघिल्ला चुनावमा एमालेको बुई चढेर चुनाव जित्दै आएका उनी यसपटक झापा ३ मा बिना गठबन्धन मैदानमा थिए। लिङ्देन रास्वपाका प्रकाश पाठकसँग पराजित भएका हुन्।
राप्रपा महामन्त्री राणा यसपटक पार्टीका पक्षमा जनमत जुट्न धेरै कुराले साथ नदिएको बताउँछन्। उनका अनुसार पार्टीको सर्वेक्षणअनुसार पनि मत ल्याउन सकिएन। चुनावअघिको आन्तरिक सर्वेक्षणमा प्रत्यक्षतर्फ सातदेखि १० सिट जित्ने अनुमान राप्रपाको थियो। राप्रपाले सिट बढाउन त सकेन, २०७९ को चुनाव जितेका क्षेत्रमा पनि निकै कमजोर देखियो।
२०७९ मा चुनाव लडेकामध्ये यसपटक पाण्डे र राणाले चुनाव लडेनन्। शाहीबाहेक अन्य नेताहरूको सांसद बन्ने प्रयास असफल भयो।
पूर्वराजाको अनुरोध अवज्ञा
प्रजातन्त्र दिवसमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले चुनावबाट मुलुकको समस्या समाधान नहुने धारणा सार्वजनिक गरेका थिए। सबै पक्षबीच सहमति गरेर मात्रै चुनावमा जानुपर्ने उनको सुझाव थियो। उनले भनेका थिए, ‘अब देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र राजसंस्थाले आपसी विश्वासका साथ सहकार्य गर्न विलम्ब हुनु हुँदैन। चुनावअघि नै सबै शक्तिबीच नयाँ सहमति गर्नु उचित हुन्छ।’
राजाको यस्तो अभिव्यक्तिबारे राप्रपाभित्र छलफल भयो। राप्रपाले संस्थागत रूपमै शाहको अभिव्यक्तिलाई केन्द्रीय सम्पादन समितिबाट पास गरेको थियो। अध्यक्ष लिङ्देनले त्यसलाई कार्यान्वयन गर्ने आँट नगरेको नेताहरूको दाबी छ। ‘यसपटक राजाले समेत चुनावमा जान उचित हुँदैन भनिबक्सिएको थियो। केही साथीहरू त्यो निर्देशन लत्याएर चुनावमा जानुभयो’, महामन्त्री धवलशमशेर भन्छन्, ‘त्यसैले म त चुनाव लडिनँ।’
आन्तरिक विवाद
पार्टीको आन्तरिक विवादले चुनावी नतिजा कमजोर आएको नेताहरू बताउँछन्। निर्वाचन आयोगमा समानुपातिक सूची पेस गर्दा समानता नपाएको भन्दै महिला नेताहरू अनशन बसेका थिए। केही महिला नेत्री स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना हुनुपरेको थियो। धवलशमशेरसहितका नेताहरूले अनशन तोडेपछि विवाद साम्य भएको थियो। तर त्यो विवाद तत्कालका लागि मात्रै टरेको रहेछ भन्ने कुरा चुनावी नतिजाले देखाएको छ। पार्टीभित्र महाधिवेशन, अध्यक्ष पदावधि लम्ब्याउने र तीनकुने आन्दोलनजस्ता विवादले पनि राप्रपा कमजोर बनेको नेताहरू बताउँछन्।
यसैगरी पार्टीभित्र महाधिवेशनका विषयमा समेत विवाद छ। २०७८ साल मंसिरमा अध्यक्ष बनेका लिङ्देनको कार्यकाल गत मंसिरमै पूरा भए पनि महाधिवेशन हुन सकेको छैन।
राप्रपाको विधानअनुसार चार वर्ष कार्यकालपछि महाधिवेशन गर्नुपर्ने हुन्छ। लिङ्देनले एक वर्ष म्याद थप गरेर अध्यक्ष पदको पदावधि बढाएका छन्। धवल पक्ष भने यसको विरोधमा छ। ‘हामी पार्टी नेतृत्वसँग समीक्षा गर्छौँ। हाम्रा कमीकमजोरीबारे पनि बैठकमा कुरा उठाउनेछौँ’, महामन्त्री राणा भन्छन्।
२०८१ चैत १५ को तीनकुने आन्दोलनबारे पनि राप्रपा दुई धारमा विभाजित थियो। ज्ञानेन्द्र शाहकै अनुरोधमा राप्रपाका पाका नेता नवराज सुवेदीले नेतृत्व गर्ने भनिएपछि राप्रपा अध्यक्ष लिङ्देन र तत्कालीन राप्रपा नेपाल अध्यक्ष कमल थापा असन्तुष्ट बनेका थिए।
अन्य राप्रपा नेताहरू रवीन्द्र मिश्र र धवल भने आन्दोलनमा सहभागी थिए। सडकबाट रापतापका साथ उठेको आन्दोलन नेताहरूको टकरावकै कारण अघि बढ्न सकेन। तीनकुने आन्दोलन विध्वंसमा जोडिएपछि राजावादी आन्दोलनको नेतृत्वमाथि प्रश्न उठ्यो। यही घटनाका कारण राजावादी नेता दुर्गा प्रसाई, रवीन्द्र मिश्रसहितका नेता पक्राउ परेका थिए।
राप्रपा बारम्बार सत्तामुखी बन्दै आएको छ। २०७९ को चुनावपछि पनि राप्रपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल भयो। २०७९ को चुनावमा एमालेसँग साँठगाँठ गर्यो। राप्रपा नेपालका नेता कमल थापा त सूर्य चिह्नबाटै चुनाव लडे।
थापा-लिङ्देन नै पार्टीको एजेन्डा कमजोर बनाउन लागेको नेताहरू बताउँछन्। ‘राप्रपाबाट राजा फर्काउने एजेन्डा कहिल्यै सम्भव थिएन, अहिले पनि सम्भव देखिँदैन,’ नागरिक बचाउ दलका महासचिव प्रेमदीप लिम्बू भन्छन्, ‘यसपटक राजेन्द्र लिङ्देन र राप्रपा दुवैले हारेका छन्। अब एजेन्डा बलियो गरी उठाउनुपर्छ।’





