काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र ५ बाट दुई पूर्वउपप्रधानमन्त्रीको जमानत (धरौटी रकम) जफत भएको छ। उक्त क्षेत्रबाट एमालेका प्रभावशाली नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र राप्रपाका नेता एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाको जमानत जफत भएको हो।
काठमाडौँ ५ बाट प्रतिस्पर्धा गरेका एमाले नेता पोखरेलको जमानत जफत भएको राससले जनाएको छ। उनले चार हजार ७०१ मत पाएर तेस्रा भएका थिए। थापाले भने एक हजार ९२२ मत मात्र प्राप्त गरेका थिए। उक्त क्षेत्रमा रास्वपाका सस्मित पोखरेल निर्वाचित भएका छन्।
कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि कानुनबमोजिम उनीहरूको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्नेले धरौटीबापत बुझाएको रकम जफत गरिन्छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा धरौटीबापत १० हजार रुपैयाँ बुझाउनुपर्छ।





