मनमोहनको स्मरणमा ईश्वर पोखरेल, ‘वैशाखीको सहारामा पनि हार खानुभएन’

हिमाल प्रेस १३ वैशाख २०८३ १०:२५ | Sunday, April 26, 2026
8
SHARES
मनमोहनको स्मरणमा ईश्वर पोखरेल, ‘वैशाखीको सहारामा पनि हार खानुभएन’

काठमाडौँ- नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतीक’को रूपमा चित्रण गरेका छन्। नेकपा एमालेका पूर्व अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले उनको राजनीतिक संघर्ष र त्यागको स्मरण गरे।

कार्यक्रममा नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने दिवंगत व्यक्तित्वहरूलाई सम्मानका साथ स्मरण गरे। उनले प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा। गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताए।

मनमोहन अधिकारीको राजनीतिक इतिहासको चर्चा गर्दै पोखरेलले उनी नेपाल कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गरे। भारतमा रहँदा भारतीय स्वतन्त्रता संग्राममा सहभागी भई जेल जीवन बिताएका अधिकारीको दृढ मान्यता भएको बताउँदै उनले भारतबाट अंग्रेज शासन नहटेसम्म नेपालमा राणा शासनको अन्त्य सम्भव नहुने बताएको जिकिर गरे। नेपाल फर्केपछि पनि उनले कठोर बन्दी जीवन र यातना सहनुपरेको तर कहिल्यै सिद्धान्तसँग सम्झौता नगरेको पोखरेलले बताए।

हेलिकप्टर दुर्घटनापछि गम्भीर शारीरिक समस्या झेलेका अधिकारीको आत्मबलको उदाहरण दिँदै पोखरेलले भने, ‘बैसाखीको सहारा लिनुपर्दा पनि उहाँले हार खानुभएन। उहाँ भन्नुहुन्थ्यो– मेरा दुइटा खुट्टा थिए, अब चारवटा भएका छन्, म अझै हिँड्न सक्छु।’

अधिकारीको जीवनबाट वर्तमान राजनीतिले सिक्नुपर्ने मुख्य पाठ भनेकै प्रतिकूल समयमा पनि आफ्नो सिद्धान्त र निष्ठाको झण्डा झुक्न नदिनु रहेको पोखरेलको भनाइ थियो।

प्रकाशित: १३ वैशाख २०८३ १०:२५ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast