मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

हिमाल प्रेस १२ माघ २०७९ ७:०९ | Thursday, January 26, 2023
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

जलेश्वर- वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन्।

पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ। जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन्। गोरुलाई नुहाई नयाँ रंगीचंगी डोरी, माला लगाएर पूजा गरिँदैछ।

हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ । किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताए। किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने गर्दछन्।

श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिसाएर प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन्। मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन्। आजैका दिनदेखि आ–आफ्नो बाँझो खेतबारी जोत्ने कामको शुभारम्भ गर्दछन्।

मिथिलाञ्चलको गाउँ गाउँमा आज सयौँ गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेको देख्न पाइन्छ। जलेश्वर–११ का किशुन विच्छा पछिल्लो समय ट्र्याक्टर, पावर टिलरलगायत यन्त्र भित्रिए पनि सबै खेतबारीमा सहजरुपमा पुग्न नसक्ने, आफूले चाहेअनुसारको खेतबारी खनजोत गर्न नसक्ने हुनाले खेतीपातीका लागि हलो र गोरु नै सहज हुने बताउँछन्।

प्रकाशित: १२ माघ २०७९ ७:०९ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast