काठमाडौँ- परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षाका साथै उद्धारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली गठन गरिएको जानकारी दिए।
सरकोरवाला निकायहरूबीच अन्तरनिकाय समन्वय गर्ने, उद्धारको लागि आवश्यक र उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिने तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गर्ने लगायतको प्रयोजनको लागि आपतकालीन उद्धार टोली गठन भएको उनले बताए।
उनले मध्यपूर्वमा भएको पछिल्लो घटनाक्रमका सन्दर्भमा नेपाली नागरिकको सुरक्षाको प्रत्याभूतिको लागि उच्च महत्व दिइरहेको जानकारी सम्बन्धित देशका दूतावासबाट जानकारी हुन आएको उल्लेख गरे। खड्काले विभिन्न विमानस्थलको ट्रान्जिटमा करिब एक हजारको संख्यामा नेपाली नागरिक रहेको हुन सक्ने भन्दै उनीहरूको सम्बन्धित एयरलाइन्सहरुले व्यवस्थापन गरिरहेको बताए।
ट्रान्जिटमा रहेका नेपालीहरूलाई नेपाल ल्याउने अथवा अन्यत्र कसरी पठाउने भन्ने विषयमा सम्बन्धित एयरलाइन्सले नै त्यसको जिम्मा लिनुपर्ने उनले बताए।





