होलीले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् : राष्ट्रपति

हिमाल प्रेस १८ फागुन २०८२ ६:२९ | Monday, March 2, 2026
6
SHARES
होलीले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन्।

होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्। राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेम भाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसंगीहरूसँग एकापसमा अबिर तथा रंग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ।

रंगहरूको पर्वका रूपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रंगहरूलाई प्रतिबिम्बित गर्ने पर्वका रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। विभिन्न रंगीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रंगहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र त्यही विविधताबिचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित: १८ फागुन २०८२ ६:२९ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast