तस्बिर स्रोत : आईओएम
काठमाडौँ– सन् २०२५ मा विश्वभरका आप्रवासन मार्गहरूमा कम्तीमा सात हजार ६ सय ६७ मानिस सम्पर्कविहीन भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को नयाँ तथ्यांकअनुसार ती मानिसमध्ये केहीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन्।
यो तथ्यांकले मानिसले सामना गरिरहेको विश्वव्यापी संकटको भयावह अवस्थालाई उजागर गर्दछ। आईओएमले आप्रवासीको शोषण गर्ने र ज्यान जोखिममा पार्ने मानव तस्करी सञ्जालहरूलाई ध्वस्त पार्न आह्वान गरेको छ।
आईओएमकी महानिर्देशक एमी पोपले भनिन्, ‘आप्रवासन मार्गहरूमा भइरहेको निरन्तरको मृत्यु एउटा विश्वव्यापी असफलता हो, जसलाई हामीले सामान्य रूपमा स्वीकार गर्न सक्दैनौँ। हामीले सुरक्षित र नियमित मार्गहरू विस्तार गर्न र अभावमा बाँचेका मानिसलाई जुनसुकै अवस्थामा पनि सुरक्षा प्रदान गर्न कदम चाल्नुपर्छ।’
आईओएमका अनुसार सन् २०२४ मा रेकर्ड गरिएको झन्डै नौ हजार दुई सय मृत्युको तुलनामा यो संख्या कम देखिए पनि यो गिरावटले विशेष गरी अमेरिका क्षेत्रमा खतरनाक र अनियमित मार्गहरू प्रयोग गर्ने मानिसको संख्या घटेको संकेत गर्छ। यद्यपि सूचनाको सीमित पहुँच र मानवीय संस्थाहरूका लागि आर्थिक अभावका कारण पनि धेरै मृत्युका घटनारू दर्ता हुन नसकेको बताइएको छ।
प्रतिवेदनअनुसार भूमध्य सागरमा सन् २०२५ मा कम्तीमा दुई हजार एक सय ८५ जनाको मृत्यु वा बेपत्ता भएको छ। क्यानरी टापुतर्फ जाने क्रममा एक हजार दुई सय १४ जनाको मृत्यु भएको छ।
थप एक हजार पाँच सय मानिस समुद्रमा बेपत्ता भएको आईओएमको प्रतिवेदनमा उल्लेख छ। तर खोजी र उद्धार सूचना अभावमा ती पुष्टि हुन सकेका छैनन्। सन् २०२५ मा भूमध्यसागरको तटमा दुई सय ७० वटा बेवारिसे मानव अवशेष भेटिएका थिए।
यो डरलाग्दो प्रवृत्ति सन् २०२६ मा पनि जारी छ। फेब्रुअरी २४ सम्ममा भूमध्यसागरमा ६ सय ६ जनाको मृत्यु भइसकेको छ। इटाली पुग्नेहरूको संख्या ६१ प्रतिशतले घटेको भए तापनि मृत्यु दर भने उच्च देखिएको छ। पछिल्लो दुई सातामा मात्रै इटाली र लिबियाको तटमा २३ वटा मानव अवशेष फेला परेका छन्।
यी मृत्युहरूले तस्करी सञ्जाल बढिरहेको दर्शाउँछ। आईओएमले सरकारहरूलाई खोजी र उद्धार कार्य तीव्र पार्न, आपराधिक सञ्जालहरू तोड्न अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न र सुरक्षित आप्रवासनका मार्गहरू विस्तार गर्न आग्रह गरेको छ।





