अन्तर्वार्ता

सेलिब्रिटी बन्न होइन, डेलिभरी दिन आएको हुँ : प्रवल थापा

कांग्रेस नर्सरीमा हुर्किएका प्रवल : प्रकाशमानको विरासत र गगन भिजनको संगम

हिमाल प्रेस १४ फागुन २०८२ १६:५७ | Thursday, February 26, 2026
20
SHARES
सेलिब्रिटी बन्न होइन, डेलिभरी दिन आएको हुँ : प्रवल थापा

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य चुनावका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका प्रवल थापा कांग्रेसको ‘ग्रासरुट’ राजनीतिबाट खारिएर आएका आशालाग्दा युवा अनुहार हुन्। बानेश्वरको थापागाउँमा जन्मिएका प्रबलले नेविसंघको साधारण सदस्यबाट राजनीति सुरु गरेका थिए। सेन्ट जेभियर्स स्कुलको जग र अस्ट्रेलियाको युनिभर्सिटी अफ ब्यालारटबाट प्राप्त व्यवस्थापनमा स्नातकोत्तरको शैक्षिक कुशलताले उनलाई ‘भिजनरी’ बनाएको छ। २०६४ सालदेखि नेविसंघ, तरुण दल हुँदै १४औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित प्रबलले पार्टीमा दुई दशक लामो अवधि बिताइसकेका छन्। उनी पार्टीभित्र सधैँ ‘एजेन्डा र विधि’ को वकालत गर्दै आएका छन्। २०७२ को महाभूकम्प र कोभिड-१९ को समयमा देखाएको सामाजिक सक्रियताले प्रबललाई ‘निर्वाचनमा मात्र देखिने होइन, हरेक दिन समुदायसँग जोडिएको नेता’ को पहिचान दिएको छ। प्रबल काठमाडौँ-१ मा प्रकाशमान सिंहको स्थानमा उम्मेदवार बनेका हुन्, जसले पार्टीमा युवा नेतृत्वको उभारलाई संकेत गर्दछ। सुशासन कायम गर्ने, पर्यटनको क्षेत्रको दायरा बढाउँदै व्यवस्थित गर्ने, खेललाई अर्थतन्त्र र पर्यटनसँग जोड्ने मात्र हाेइन निर्वाहमुखी नभई व्यावसायिक कृषिमा जोड्दै युवालाई नेपालमा उद्यमी बनाउन आवश्यक रहेको बताउने युवा नेता प्रवल थापासँग हिमालप्रेसले गरेको कुराकानी :

यहाँले आफूलाई ‘जेन-जी’ आन्दोलनको एजेन्डासँग जोड्नुहुन्छ, यो पुस्ताले तपाईँबाट के अपेक्षा गर्ने?

अहिलेको जेनजी पुस्ता भाषण र पुराना आश्वासनले वाक्क भएको छ। उनीहरू नतिजा चाहन्छन्। म आफैँ यो पुस्ताको भावना बुझ्ने र उनीहरूकै बीचमा संघर्ष गरेको व्यक्ति हुँ। मेरो उम्मेदवारी भनेको युवाहरूले उठाएको सुशासन, पारदर्शिता र अवसरको मुद्दालाई संसद्को रोस्ट्रममा पुर्‍याउनु हो। युवाहरूलाई केवल ‘भोट बैंक’ होइन ‘नीति निर्माता’ बनाउने मेरो पहिलो लक्ष्य हो। नेपालमा युवा जनसंख्या (१६-४० वर्ष समूह) कुल जनसंख्याको ४०.६८ प्रतिशत छ, तर युवा बेरोजगारी दर २०.८२ प्रतिशत पुगेको छ।

यसले गर्दा युवामा निराशा बढेको छ। म युवालाई शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता दिएर नीति निर्माणमा संलग्न गराउनेछु, जसले गर्दा उनीहरूको योगदान मुलुक विकासमा सहयोगी सिद्ध हुनेछ। यसका लागि स्थानीय स्तरमा युवाकेन्द्रित कार्यक्रम सुरु गरेर उनीहरूको क्षमता विकास गर्नु आवश्यक छ। यो विषयलाई हाम्रो पार्टीका सभापति गगन थापाले संसद्‌मा उठाइरहनु भएको छ। म पनि त्यसैगरी उठाउनेछु। कांग्रेस सरकारमा रहँदा यसलाई कार्यान्वयनमा लैजानेछु। आशा छ- यो निर्वाचनले बदलिएको कांग्रेसलाई भारी मत दिएर आमनागरिकले मुलुकलाई बदल्नुहुनेछ। म मात्र होइन मुलुकभर कांग्रेसको उभार आएको छ। कांग्रेस जित्छ। मुलुकको हितका लागि पनि कांग्रेसले जित्नैपर्छ। युवालाई अघि बढाउनुपर्छ भनेर नै कांग्रेस विशेष अधिवेशनमार्फत आएर हामीले कांग्रेस सुधारेको र अव देश बदल्ने भन्दै अघि बढेका छौँ।

यहाँले यसो भनिरहँदा मुलुकभरका युवाहरू विदेश पलायन भइरहेका छन्, यो राष्ट्रिय समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ?

पलायनको मुख्य कारण ‘भविष्यको असुरक्षा’ हो। यसलाई रोक्न मैले ‘उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन’ लाई मुख्य एजेन्डा बनाएको छु। स्थानीय तहमा उद्यम गर्ने युवालाई बीउ पुँजी, सहुलियतपूर्ण कर्जा र झन्झटरहित प्रशासनिक सेवाको ग्यारेन्टी हुनुपर्छ। जबसम्म राज्यले युवाको आइडियालाई ‘बिजनेस’ मा बदल्न सघाउँदैन, तबसम्म नेपालबाट उड्ने जहाजहरू भरिभराउ हुनेछन्।

म संसद‌्मा पुगेपछि ‘स्टार्टअप ऐन’ र ‘युवा स्वरोजगार नीति’ लाई व्यावहारिक बनाउन लड्नेछु। अघिल्लो वर्ष सात लाखभन्दा बढी श्रम अनुमति जारी भएका थिए, जसमा विद्यार्थी भिसा र अनियमित रूपमा जानेहरू समावेश छैनन्। यतिबेला हाम्रै तथ्यांक  नियाल्दा पनि ४३ लाख नेपाली विदेशमा छन् र विप्रेषण जीडीपीको २५ प्रतिशत माथि छ। विगत तीन दशकमा ६८ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जसले दैनिक एक हजार सात सय जनाले मुलुक छोड्ने गरेको देखाउँछ।

यसलाई रोक्न ‘स्टार्टअप इकोसिस्टम’ लाई बलियो बनाउनु आवश्यक छ, जसमा २०२५ मा पाँच सयभन्दा बढी स्टार्टअप दर्ता भएका छन्। म यसलाई राष्ट्रिय स्तरमा विस्तार गर्नेछु, जसले युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन दिन्छ। युवालाई उद्यमसँग जोड्न सक्नैपर्छ। अन्यथा जति भाषण गरे पनि बेरोजगारी अन्त्य हुन सक्दैन। अनि मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेकाे भनिरहेकाे अवस्थामा त्यसलाई खुला डेटा प्रणालीबाट रोक्ने प्रयास गर्न आवश्यक छ। अनि निर्वाचनको तिथि तय गरेर सधैँ उही समयमा गर्ने र आमनागरिकले पनि एक दललाई बहुमत दिएर पाँच वर्ष काम  गर्न दिनैपर्छ। त्यस्ता कुराहरु म उठाउनेछु। पहलकदमी लिनेछु।

यहाँले खुला डेटा प्रणालीको कुरा गर्नुभयो, यसले भ्रष्टाचार कसरी रोक्छ?

भ्रष्टाचार अँध्यारोमा फस्टाउँछ। जब राज्यका हरेक खर्च, टेन्डर र निर्णयहरू ‘डिजिटल पब्लिक रेकर्ड’ मा हुन्छन्, तब कसैले ढाँट्न पाउँदैन। मुलुकभरको ठूलो समस्या भनेकै अपारदर्शी खर्च हो। म काठमाडौँ-१ बाट यो अभ्यास सुरु गरेर देशभरिको सार्वजनिक निकायमा ‘डिजिटल ट्रान्सपरेन्सी’ लागू गराउन दबाब दिनेछु। जनताले आफ्नो करको हिसाब मोबाइलमै हेर्न पाउने वातावरण वास्तविक सुशासन हो।

नेपालको करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई) २०२५ मा स्कोर ३४/१०० छ, जसले १८२ देशमध्ये १०९ औँ स्थानमा राखेको छ। यसले भ्रष्टाचारको उच्च स्तरलाई देखाउँछ। ओपन डेटा नेपालजस्ता पहलहरूले तीन सय ८२ डेटासेटहरू उपलब्ध गराएका छन्, जसले शासन, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा पारदर्शिता बढाउँछ। म यसलाई राष्ट्रिय स्तरमा लागू गरेर भ्रष्टाचार घटाउन प्रयास गर्नेछु, जसले गर्दा सरकारी खर्चको निगरानी जनताले गर्न सक्छन्। यसबाट टेन्डर प्रक्रिया पारदर्शी हुन्छ र अनियमितता रोक्न सकिन्छ। कैयौँ मुलुकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिएका पनि उदाहरण छन्। त्यसैले यसलाई रोक्न अनेकन् उपाय अवलम्बन गर्नुपर्ने हुन्छ। यसमा मेरो मात्र हाेइन बदलिएको नेपाली कांग्रेसले पनि पहलकदमी लिनेछ।

देशैभरि महिला सशक्तीकरणको कुरा उठ्छ, तर व्यवहारमा उस्तै छ। तपाईँको योजना के छ?

महिलालाई तालिम दिएर प्रमाणपत्र बाँड्ने पुरानो शैली अब काम लाग्दैन। मेरो एजेन्डा भनेको ‘सीप विकासलाई सीधै बजारसँग जोड्ने’ हो। महिलालाई उत्पादनमूलक क्षेत्रमा जोडेर उनीहरूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउनु वास्तविक सशक्तीकरण हो। काठमाडौँ-१ मा हामीले स्थानीय सीप र प्रविधि जोडेर महिला उद्यमीहरूको सञ्जाल बनाउनेछौँ, जुन देशकै लागि एउटा नमुना हुनेछ।

नेपालमा महिलाको श्रमशक्ति सहभागिता दर २०२४ मा २७.६ प्रतिशत छ, जबकि पुरुषको ५३.७ प्रतिशत। महिलामा असुरक्षित रोजगारी ९१.२ प्रतिशत छ र २०२१ जनगणनामा ६०.४ प्रतिशत महिला आर्थिक रूपमा सक्रिय छन्, तर औपचारिक क्षेत्रमा कम। लिंगअनुसारको कमाइको ग्यापमा महिलाले पुरुषको तुलनामा ३० प्रतिशत कम कमाउँछन्। म यसलाई सम्बोधन गर्न महिला उद्यमीका लागि विशेष कार्यक्रम सुरु गर्नेछु, जसमा तालिम, कर्जा र बजार पहुँच समावेश हुनेछ। यसले महिलालाई आर्थिक स्वतन्त्रता दिन्छ र समाजमा उनीहरूको भूमिका बढाउँछ।

धेरैले भन्छन्- प्रवल थापा त गगन थापाको छाया मात्र हुन् भने प्रकाशमान सिंहको त छेउछाउ नै होइनन्। तर यहाँको पनि आफ्नो मौलिकता पक्कै होलान् यसमा के भन्नुहुन्छ?

म आफूभन्दा सिनियरलाई आदर गर्ने संस्कार लिएको व्यक्ति हुँ। प्रकाशमान दाजुको सांगठनिक सुझबुझ र गगन दाको वैचारिक स्पष्टता मेरा लागि ऊर्जा हुन्। तर मेरो मौलिकता भनेको ‘भुइँको राजनीति’ हो। म बानेश्वरको गल्लीमा हुर्किएर, अस्ट्रेलियामा पढेर, पुनः आफ्नै माटोमा फर्किएको व्यक्ति हुँ। मसँग अन्तर्राष्ट्रिय अनुभव र स्थानीय भोगाइको संगम छ। म ‘सेलिब्रिटी बन्न होइन, डेलिभरी दिन’ आएको हुँ।

अरूका लागि यो क्षेत्र एक पटक पढ्नुपर्ने विषय होला, मेरा लागि यो बाँचेको यथार्थ हो। यस क्षेत्रमा जति पनि उम्मेदवार हुनुहुन्छ उहाँहरू भन्दा म नै यहाँको यथार्थसँग निकट छु। पार्टीले युवा नेतृत्वका रूपमा मलाई टिकट दिइएको छ, जसले गर्दा म पार्टीको एकतामा विश्वास गर्छु र विकासका मुद्दामा जोड दिन्छु। मेरो अन्तर्राष्ट्रिय शिक्षा र स्थानीय सक्रियताले मलाई फरक बनाउँछ, जसले नीति निर्माणमा नवीन दृष्टिकोण ल्याउँछ।

मुलुकभरका युवामा राजनीतिप्रति वितृष्णा छ, तपाईँ उनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

राजनीति फोहोरी खेल हो भनेर हामी पन्छियौँ भने फोहोर मान्छेले शासन गरिरहनेछन्। घरदैलोमा जाँदा वृद्धवृद्धाहरूले ‘हामीले त दुःख पायौँ, अब तिमीहरूले बनाऊ’ भन्दा मेरो आँखा रसाउँछन्। म युवाहरूलाई भन्छु-अब ‘आशा’ गर्ने मात्र होइन, ‘हिसाब’ माग्ने बेला आएको छ। मजस्तो ‘कांग्रेस नर्सरी’ बाट हुर्किएको र शिक्षित युवालाई संसद् पठाउनु भनेको तपाईँहरूको भविष्य सुरक्षित गर्नु हो।

युवा बेरोजगारी २०.८२ प्रतिशत छ, र ८४.६ प्रतिशत रोजगारी अनौपचारिक क्षेत्रमा छ। यसले राजनीतिमा युवाहरूको सहभागिता आवश्यक बनाउँछ। म युवालाई राजनीतिमा आउन प्रोत्साहन दिन्छु, जसले गर्दा उनीहरूले आफ्ना मुद्दा उठाउन सक्छन्। पार्टीमा युवा नेतृत्व बढाएर राजनीतिलाई स्वच्छ बनाउन सकिन्छ। खेल क्षेत्रलाई अर्थतन्त्रमा जोड्न आवश्यक छ। अनि हामीले पूर्वाधारमा जोड दिन आवश्यक छ। त्यसका लागि एयरपोर्टबाट सुरु गर्नपर्छ। नेपालमा आउने भारतीय पर्यटकलाई क्यास गर्न सकेमा अधिक हुन सक्छ। त्यसका लागि काम गर्न आवश्यक छ।

चुनावमा निर्वाचित भएपछि आफ्ना प्रतिबद्धता के के छन् प्रस्ट पारिदिनुस् न?

भ्रष्टाचारप्रति शून्य सहनशीलता, सार्वजनिक खर्चमा पारदर्शिता र युवा-महिलाका लागि सम्मानजनक रोजगारी। म संसद्‌मा पुग्दा काठमाडौँ-१ को भूगोल मात्र होइन, एउटा नयाँ पुस्ताको भिजन र इमानदारी पनि पुग्नेछ। म बानेश्वरको सडकबाट उठेर आएको छु, तपाईंहरूको विश्वास कहिल्यै ढल्न दिने छैन। सीपीआई स्कोर ३४/१०० ले भ्रष्टाचारको समस्या देखाउँछ, जसलाई ओपन डाटाजस्ता पहलबाट सम्बोधन गर्न सकिन्छ। युवा पलायन रोक्न स्टार्टअप प्रवर्द्धन गर्नेछु, जसमा २०२५ मा १० हजार दुई सय ४४ आवेदन आएका छन्। महिलाको २७.६ प्रतिशत श्रम सहभागिता बढाउन कार्यक्रम ल्याउनेछु।

ट्राफिक व्यवस्थापन, वैज्ञानिक पार्किङ, व्यावसायिक सुरक्षा, भित्री बस्ती कनेक्टिभिटी, सुकुमबासी समस्या समाधान, सहरी सौन्दर्य र गरिबी न्यूनीकरण मेरो प्राथमिकतामा छन्। मेरो क्षेत्रमा सधै आन्दोलन हुने ट्राफिक चाप बढ्ने हुनाले समस्यामा पर्ने साना व्यवसायीको हितमा पनि काम गर्नेछु। यो हामीहरु सबैले भोगेकाे साझा समस्या हो। यसलाई निर्मूल पार्ने उपाएमा काम हुनेछ।

स्थानीय समस्यालाई राष्ट्रिय नीति निर्माणसँग जोडेर संसद्‌मा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता यहाँमार्फत व्यक्त गर्छु। स्थानीय तहमा उद्यमशीलता केन्द्र स्थापना, धार्मिक पर्यटनको विकास, सरकारी सेवामा ‘डिजिटल एक्सेस’ र गुणस्तर सुधार मेरा प्राथमिकताका विषय हुन्। शिक्षा र स्वास्थमा निशुल्क पहुँचकाे उपाए। माथि भनिरहेका कैयन कामहरु भइरहेका पनि छन् । त्यसलाई व्यवस्थित र सर्वसाधारणलाई सहज बनाउने हाे। केही पनि भएको छैन भन्ने भाष्यलाई  सुधार गर्दै अझ धेरै हामीले गर्ने कामको प्रतिवद्धता ब्यक्त गर्दछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast