हरेक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र बनाउँछौँ : डीपी अर्याल

हिमाल प्रेस ११ फागुन २०८२ १८:२९ | Monday, February 23, 2026
8
SHARES
हरेक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र बनाउँछौँ : डीपी अर्याल

काठमाडौँ- रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले हरेक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्ने बताएका छन्। काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार समेत रहेका आर्यालले सोमबार घरदैलोका क्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागतरूपमा कार्यान्वयन गर्ने बताएका हुन्।

उनले सुशासन आफ्नो वाचापत्रको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पार्दै सार्वजनिक सुनुवाइ र समयसीमाभित्र गुनासो सम्बोधन गर्ने संरचना लागू गर्ने बताए। अर्यालले सोमबार बल्खु टेकुसी, कुमारी क्लब एरिया, गाम्बेल, शिवनगर, सीता पेट्रोल पम्प क्षेत्र, खसिबजार, कलंकी मन्दिर, लमपाटी, माछा गेट, दरबार ब्याङ्केट, कालीमाटी, कुलेश्वर, कालीमाटी चौकी तथा फलफूल मण्डी क्षेत्रमा घरदैलो गरेका थिए। घरदैलोका क्रममा उनले स्थानीयवासी, साना व्यवसायी, श्रमिक तथा युवासँग प्रत्यक्ष संवाद गरेका थिए।

भेटघाटमा अधिकांश मतदाताले निर्वाचत जितेर भष्ट्राचारलाई जरैदेखि उखाल्नू भन्दै शुभकामना दिएका थिए। घरदैलोमा अर्यालसँगै क्रिकेटर ज्ञानेन्द्र मल्लको पनि उपस्थिति थियो।

‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने कुरा भाषणको शब्द होइन, कार्यप्रणालीको आधार बन्नुपर्छ। निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गरिनेछ,’ उनले भने, ‘विकास योजना, बजेट कार्यान्वयन र सार्वजनिक सेवाको मासिक क्षेत्रगत सार्वजनिक सुनुवाइ गरिनेछ। जनगुनासोको प्रकृति हेरी बढीमा १ हप्तादेखि ३० दिनभित्र समाधान प्रक्रिया अघि बढाइनेछ।’

घरदैलोका क्रममा स्थानीय व्यवसायीहरूले बजार व्यवस्थापनमा पारदर्शिता, अनावश्यक प्रशासनिक झन्झटको अन्त्य र निष्पक्ष प्रतिस्पर्धाको वातावरण तयार गरिदिन माग गरेका थिए। ट्राफिक जाम, ढल निकास, धुलोधुवाँ, फोहोरमैला व्यवस्थापन तथा बल्खु खोला संरक्षणजस्ता विषयलाई पनि मतदाताले उठाएका थिए।

अर्यालले न्यायोचित बजेट वितरण र शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै कलंकीदेखि सतुंगल हुँदै नागढुंगा र सीतापाइलादेखि भीमढुंगा क्षेत्रलाई हरित कोरिडोरको रूपमा विकास गर्ने योजना दोहोर्‍याए।

खानेपानी वितरण विस्तार, आकासे पानी संकलन नीतिको अध्ययन, सडक दुर्घटना जोखिम न्यूनीकरण र वैज्ञानिक ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिने उनले बताए।

साथै टेकु क्षेत्रको फोहोरमैला व्यवस्थापन सुधार, प्रदूषण नियन्त्रणमा कडा अनुगमन, तथा वातावरण संरक्षणमा दीर्घकालीन नीति अवलम्बन गरिने उनको भनाइ छ।

शिक्षा र स्वास्थ्यतर्फ सबै वडामा २४ सै घण्टा न्यूनतम स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्ने, ज्येष्ठ नागरिक, असक्त र विपन्न वर्गलाई निः शुल्क सेवा उपलब्ध गराउने तथा सामुदायिक विद्यालयहरूमा सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने उनले बताए।

महिला, दलित, अपांगता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएका समुदायको आत्मसम्मान र सामाजिक न्याय सुनिश्चित गर्न सेवा प्रवाहमा प्राथमिकता दिइने प्रतिबद्धता पनि व्यक्त गरे।

‘परिवर्तन नारा होइन, प्रणाली सुधार हो। स्रोत सुनिश्चित गरेर, सार्वजनिक रूपमा हिसाब दिँदै नागरिक निगरानीमा काम गर्ने राजनीतिक संस्कार स्थापित गर्नुपर्छ। म त्यही संस्कारको पक्षमा उभिएको छु,’ उनले भने।

प्रकाशित: ११ फागुन २०८२ १८:२९ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast