चुनावमा भएन गठबन्धन, कस्तो आउला नतिजा?

किरण पौडेल १२ फागुन २०८२ १०:१२ | Tuesday, February 24, 2026
22
SHARES
चुनावमा भएन गठबन्धन, कस्तो आउला नतिजा?

काठमाडौँ- नेपाली राजनीतिमा पछिल्ला केही निर्वाचनदेखि कायम रहँदै आएको ‘निर्वाचनपूर्वको गठबन्धन’ संस्कृति यसपटकको प्रतिनिधिसभा सदस्य चुनावमा भत्किएको छ। २०७४ को वाम गठबन्धन र २०७९ को पाँचदलीय सत्ता गठबन्धनजस्ता अभ्यासलाई थाती राख्दै प्रमुख राजनीतिक दलहरू यसपटक आफ्नै पौरखमा चुनावी मैदानमा होमिएका हुन्।

नेपाली कांग्रेसमा भएको नेतृत्व परिवर्तन र गगन थापाको ‘चुनावी तालमेलविरोधी’ रणनीतिका कारण बदलिएको समीकरणले एमाले र नवगठित नेकपालाई समेत आफ्नै उम्मेदवार खडा गर्न बाध्य पारेको छ।

अघिल्ला निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा भएको थियो। २०७९ को चुनावमा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस-माओवादीसहितको) पाँचदलीय मोर्चा देशभर एकसाथ लड्यो। विपक्षी एमालेले साना दलसँग सहकार्य गरेको थियो।

०७४ को निर्वाचनमा वाम गठबन्धन नाम दिएर एमाले-माओवादीबीच तालमेल भएको थियो। प्रतिनिधिसभा सदस्य चुनावमा मात्रै होइन, राष्ट्रियसभा सदस्य चुनाव, प्रदेशसभा सदस्यको चुनाव र स्थानीय तहको चुनावमा पनि दलहरूबीच गठबन्धन हुँदै आएको थियो।

यसपटकको प्रतिनिधिसभा सदस्य चुनावमा भने राजनीतिक दलहरू आफ्नै उम्मेदवार तय गरेर निर्वाचनमा होमिएका छन्। कांग्रेस, एमाले र नेकपाबीच तालेमल भएन। कांग्रेसले १६५ क्षेत्रमा र नेकपाले १६४ क्षेत्रमा उम्मेदवार उठाएको छ। एमालेले १६५ क्षेत्रमा उम्मेदवार उठाए पनि केहीमा सामान्य तालमेल गरेको छ। यद्यपि तालमेल ठूला दलसँग भने छैन। दलका नेताहरूका अनुसार यसपटक पनि तालमेलको रणनीति नबनेको होइन। विभिन्न घटना र परिदृश्यले तालमेल हुन नसकेको उनीहरू बताउँछन्।

कांग्रेसमा फेरियो नेतृत्व, बदलियो रणनीति

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा एमालेसँग तालमेलकै प्रयत्नमा थिए। देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गठबन्धनका विषय छलफलसमेत चलेको थियो। लोकतान्त्रिक शक्ति एक हुनुपर्ने एजेन्डासहित कांग्रेस-एमालेका केही नेताले तालमेलका लागि सक्रियता बढाएका थिए। थापा सभापतिमा चुनिए त्यसपछि सबै छलफल निष्क्रिय बन्यो।

विशेष महाधिवेशनबाट सभापति देउवा हटाइए। गगन थापा सभापति चुनिएपछि गठबन्धनको वातावरण नबनेको नेताहरू बताउँछन्।

थापा लामो समयदेखि चुनावपूर्वको गठबन्धनका विपक्षमा थिए। थापाले पार्टीको महाधिवेशन प्रतिनिधि भेलामा पनि चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव लगेका थिए। उनको प्रस्ताव पारित नभए पनि त्यसलाई एजेन्डा बनाइरहेका थिए। सभापति बनेपछि उनले त्यो एजेन्डा लागू गरेका हुन्।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य चुनावमा एमाले र कांग्रेसबीच तालेमल भएको थियो। तालमेलको सहमति देउवा सभापति हुँदा नै भएको थियो। नयाँ नेतृत्वले सहमति भंग गर्न चाहेन। प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस अन्य दलसँग तालमेलको रणनीति बनाएन।

‘रूख चिह्नमै चुनाव लड्नुपर्छ भन्ने हाम्रो अडान यसपटक पूरा भयो’, कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही भन्छन्। स्नेहीका अनुसार कांग्रेसको रणनीति रूखमा मत माग्ने भन्ने थियो।

‘कांग्रेसकै कारण यसअघि तालमेल भएको थियो। देउवा लचक बन्दा गठबन्धन संस्कृतिलाई निरन्तरता दिनुपरेको थियो,’ कांग्रेसका एक नेता भन्छन्, ‘हामी गठबन्धन नगर्नेमा दृढ भएपछि अन्य दलबीच पनि तालमेल हुन सकेन।’

२०७९ को स्थानीय तहको चुनावमा समेत तालेमल गर्नुपर्दा कांग्रेसले ‘घाटा’ व्यहोर्नुपरेको थियो। काठमाडौँ र विराटनगरमा उपमेयर पद छाड्नुपरेको तथा चितवन र पोखरामा प्रमुख पद गुमाउनुपरेको कारण कांग्रेसभित्र एउटा पंक्ति तालेमलप्रति असन्तुष्ट थियो। यसअघि गठबन्धन गर्दा आफूहरूको मत समेत ‘ट्रान्सफर’ नभएको आरोप कांग्रेसले भोगेको थियो। सिद्धान्तविहीन सत्ताका लागि तालेम गर्दा मत आदानप्रदान नहुने कारण पनि कांग्रेस गठबन्धनको झन्झटमा नपरेको सहमहामन्त्री स्नेही बताउँछन्।

एमालेको प्रयत्न विफल

यसपटक गठबन्धनका लागि कांग्रेस मौन बस्दा अन्य दललाई सकस परेको नेताहरू बताउँछन्। विशेषतः एमाले र नेकपामा तालमेलको विषय उठेको थियो। तर नेकपाले चासै दिएन। एमाले स्रोतका अनुसार तालमेलका लागि अन्य पार्टीमा प्रस्तावसमेत गरिएको थियो।

नेताहरूका अनुसार एमाले इतिहासकै कठिन घडीमा चुनावी प्रतिस्पर्धामा छ। एकातिर नेतृत्वमाथि चर्को आलोचना र अर्कातिर पार्टीको गिर्दा साखले चुनावको तालमेलको प्रयत्न गरेको थियो। एमाले अध्यक्ष ओली कांग्रेस सँगै हुनेमाढुक्क थिए। ‘अध्यक्षज्यू र देउवाबीच कुरा चलेको थियो तर कांग्रेसमा समीकरण फेरियो’, एमालेका एक नेता भन्छन्। त्यसपछि एमालेले नेकपासँग पनि तालमेलको प्रयत्न राख्यो। प्रचण्डले तालमेलमा चासो नदिएपछि अगाडि बढ्न नसकेको हो।

एमालेले नेकपाका सीमित क्षेत्रमा ‘काउन्टर तालमेल’ ग¥यो। जस्तो- रुकुम पूर्वमा प्रचण्डविरुद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सहयोग गर्ने।

२०७९ को चुनावमा एमाले सीमित क्षेत्रबाहेक एक्लै भिडेको थियो। तत्कालीन गठबन्धनका पाँच दल एकातिर थिए। गठबन्धनभित्रको असन्तुष्टिले आफूहरूलाई सहज हुने अनुमान एमालेले गरेको थियो। हुन पनि एमाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ समानुपातिक मतमा पहिलो बन्यो। ‘यसपटक तालमेल गरिएन। विशेष क्षेत्रमा समर्थन दिनबाहेक सूर्य चिह्नमै चुनाव लड्ने प्रयत्न भयो’, एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाही भन्छन्।

पार्टी एकतामा अलमलिए प्रचण्ड

जेनजी आन्दोलनपछि पार्टीलाई परिमार्जन गरेका नेता हुन् प्रचण्ड। उनै प्रचण्डले पार्टीको नाम परिवर्तनदेखि चुनाव चिह्नसमेत बदले। अहिले उनले नेकपा बनाएका छन्। पार्टीमा सानाठूला गरी २७ दलसँग एकता भइसकेको छ।

यसपटक प्रचण्डले ‘मध्यम ध्रुवबाट’ चुनाव लड्ने रणनीति बनाएका नेताहरूको दाबी छ। ‘हामी पुरानो दल पनि होइन, नयाँ पनि होइन’, नेकपा नेता जगन्नाथ खतिवडा भन्छन्, ‘मध्य र विश्वासिलो पार्टीको रूपमा हामीले अघि सारेका छौँ।’

खतिवडाका अनुसार यसपटक गठबन्धनबाट बाहिर आउने र आफ्नै पार्टीको प्रचार गर्ने प्रयत्न हो।

नेताहरू कांग्रेसभित्रको असन्तुष्टि र एमालेको बिग्रिदो साखलाई ध्यान दिएर पनि नेकपाले गठबन्धन नगरेको दाबी गर्छन्। ‘नयाँ दलमा पनि विश्वसनीय वातावरण छैन। रास्वपालगायतका दल पनि आउने/जाने चलिरहेको छ। जनताले विश्वास गरेकै छैनन्,’ खतिवडा भन्छन्, ‘पुराना दलमा समेत समस्या परेपछि नेकपा विकल्प हो भनेर बुझाइरहेका छौँ।’

कांग्रेस तटस्थ बन्दा गबठन्धन नभएको हो। ‘कांग्रेस एकल चुनावमा जाने भयो। एमालेसँग मेल खाने सम्भावना थिएन। यही कारण पनि सबै एक्लाएक्लै चुनावमा जानुपरेको हो’, खतिवडा भन्छन्।

प्रकाशित: १२ फागुन २०८२ १०:१२ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast