काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गैरजिम्मेवार बन्दै गएको निष्कर्ष निकालेको छ। बहुमतको दम्भमा सरकार गैरजिम्मेवार बनेर अगाडि बढिरहेको कांग्रेसले निष्कर्ष निकालेको हो।
त्यस्तै कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न माग गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले आयोगको प्रतिवेदनका बारेमा सामान्य छलफल भएको भन्दै सत्यतथ्य छानबिन गरेर कानुनसम्मत रूपमा प्रतिवेदनलाई अगाडि बढाउनुपर्ने बताइन्।
उनले प्रतिवेदनमा उल्लेख विषयहरु सत्य भए त्यसलाई अघि बढाउन कांग्रेसको पूर्ण समर्थन रहने समेत उल्लेख गरिन्।
प्रमुख सचेतक थापाले गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार भएको टिप्पणी गरिन्। प्रधानमन्त्रीले सम्बोधन गर्न नसक्नुको कारणबारे जानकारी गराउन सक्नुपर्ने उनको भनाइ छ। संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिकालाई अझै शसक्त र प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले जानकारी दिइन्।
बजेटमा सरकारले भौतिक पूर्वाधारलाई भन्दा पनि स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने सुझावहरु आएको थापाले बताइन्। त्यस्तै बैठकमा संसदीय दललाई पूर्णता दिने र विषयगत समितिको अध्ययनका लागि जिम्मेवारी दिने विषयमा छलफल भएको उनको भनाइ छ।




