काठमाडौँ- चन्द्रागिरी साहित्य सरोवर काठमाडौँले आफ्नो नियमित रचनावाचन कार्यक्रमको एकाउन्नौ शृंखला सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष गोपीचन्द्र कार्कीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा.रमेश शुभेच्छु थिए।
कार्यक्रममा गत पचासौँ शृंखलामा शुभेच्छुलाई समर्पण गर्ने तयारी गरिएको सम्मान पनि प्रमुख अतिथि शुभेच्छुलाई सभाध्यक्ष कार्कीले हस्तान्तरण गरे।
सभाध्यक्ष कार्कीले शुभेच्छुलाई दोस्रो पटक प्रमुख अतिथिका रूपमा पाएको र उनको प्रवचन सर्जकलाई सिर्जनाका लागि उत्प्रेरक र त्यतिकै काम लाग्ने भएकाले उनलाई नै प्रमुख अतिथिका रूपमा रोजेको बताए।
कार्यक्रममा हरिशरण आचार्य, जगन्नाथ तिमल्सिना, खगेन्द्र दाहाल, भोला चालिसे, लक्ष्मणप्रसाद बस्याल, काशीराज सुवेदी, कृष्णबहादुर बस्नेत, सरिता पराजुली, तुलसीराम भण्डारी, राजु महतलगायत कविहरूले कविता वाचन गरे।
शुभेच्छुले वाचित कवितामाथि गहिरो समीक्षा गरे। उनले भने,‘यी कविता लयका दृष्टिले शास्त्रीय, लोक र मुक्त लय ढाँचामा संरचित छन्। विचारका दृष्टिले प्रेमप्रणय, जीवनका दु:ख, मिलन बिछोड, राष्ट्र राष्ट्रियताका साथै प्रकृति र राजनीतिक चेतनाका केन्द्रमा संरचित छन् । काशीराज सुवेदीको कथा दार्शनिक छ। यसलाई सामाजिक कथा पनि मान्न सकिन्छ।’
कार्यक्रममा शुभेच्छुले आफ्नो माछा र कमिला शीर्षकको कविता पनि वाचन गरेका थिए। कार्यक्रमलाई काशीराज सुवेदीले रमाइलो गरी सहजीकरण गरेका थिए।




