जहाजको अभाव भन्दै रेसुंगा विमानस्थलमा हवाई उडान सातामा ३ पटक मात्र

हिमाल प्रेस १० फागुन २०८२ १०:४२ | Sunday, February 22, 2026
6
SHARES
जहाजको अभाव भन्दै रेसुंगा विमानस्थलमा हवाई उडान सातामा ३ पटक मात्र

गुल्मी- गुल्मीको रेसुंगा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ। नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो। नेपाल वायु निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो। उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटकमात्र उडान हुने भएको रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।

नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनको भनाइ छ। वर्षाको समय, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ।

रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौंदेखि बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलदेखि बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ।

निगमले काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ। रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ। जिल्लामा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा समेत वृद्धि हुँदै गएको छ। १८ घण्टा लामो यात्रा गरेर संघीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकले आकाशमार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट काठमाडौँ आवतजावत गर्न सहज बनेको छ।

जिल्लामा हवाई सेवा लिने नागरिकको चाप पछिल्लो समयमा बढ्दै गएको छ। तर यात्रुहरूको चाप बढे पनि उडान संख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिक समस्यामा परेका छन्। जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरुवात गरेको थियो। रासस

प्रकाशित: १० फागुन २०८२ १०:४२ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast