काठमाडौँ-९ का मतदातासँग डीपी अर्यालले गरे यस्तो वाचा

हिमाल प्रेस ५ फागुन २०८२ १६:५९ | Tuesday, February 17, 2026
4
SHARES
काठमाडौँ-९ का मतदातासँग डीपी अर्यालले गरे यस्तो वाचा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। ‘तपाईंको एक मत, विश्वासको सार, काठमाडौँ क्षेत्र नं. ९ को समृद्धिको आधार’ भन्ने मुख्य संकल्पका साथ अर्यालले मंगलबार वाचापत्र सार्वजनिक गरेका हुन्।

वाचापत्रमा अर्यालले समग्र विकास र सुशासनका विषय समेटेका छन्। वाचापत्रमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको छ। उनले भ्रष्टाचार उन्मूलनका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन्। अर्यालले सार्वजनिक सेवाका लागि मासिक क्षेत्रगत सार्वजनिक सुनुवाइ गर्ने, जनगुनासो, समस्याको प्रकृति हेरी बढीमा एक हप्तादेखि ३० दिनभित्रमा समाधानका पहल गर्ने उल्लेख गरेका छन्।

भौतिक विकास र पूर्वाधारको सन्दर्भमा अर्यालले कलंकीदेखि सतुंगल हुँदै नागढुंगा र सीतापाइलादेखि भीमढुंगा क्षेत्रलाई ‘हरित कोरिडो’ का रूपमा विकास गर्ने र मेलम्चीको खानेपानी वितरणलाई व्यवस्थित बनाउने वाचा गरेका छन्।

त्यस्तै ट्राफिक जामको वैज्ञानिक समाधान, ‘नो हर्न’ पोलिसीको कडाइका साथ कार्यान्वयन र धुलोधुवाँ नियन्त्रणमार्फत स्वच्छ सहर बनाउने उनको संकल्प छ। त्यस्तै बाटो, पुलपुलेसका, ढल निकास, फोहोरमैला व्यवस्थापनमा समन्वय गर्ने, वातावरण संरक्षण, भूक्षय न्यूनीकरण, बाढी नियन्त्रण, खोला किनारा हरियाली तथा सौन्दर्यीकरण, गुठी जग्गा संरक्षण तथा व्यवस्थापन गर्नेलगायत वाचापत्रमा समेटिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै अर्यालले सबै वडामा २४ सै घण्टा न्यूनतम स्वास्थ्य सेवा सुनिश्चित गर्न पहल गर्ने, ज्येष्ठ नागरिक, अशक्तर विपन्न बालबालिकाहरलाई निःशुल्क स्वास्थ्य सेवा सेवाहमा पहल गर्ने र स्थानीय अस्पतालहरूमा ट्रमा सेन्टरको व्यवस्था गर्ने योजना अघि सारेका छन्।

त्यस्तै, नेवाः संस्कृति, इतिहास र सम्पदाको डिजिटल अभिलेखीकरण गर्ने, संस्कृति प्रवर्द्धन केन्द्रहरुको स्थापना, भवनका नक्सा पासमा आधुनिक हरित रेटिङ र मौलिकता रेटिङका आधारमा सहुलियतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको छ।

वाचापत्रमा उनले कृषि र पर्यापर्यटनको विकास गरी स्वरोजगार तथा आयआर्जन सिर्जना गरिने, पुरातात्विक सम्पदा र संस्कृतिको अवलोकनलाई एकीकृत गर्न ‘टुरिस्ट सटल बस’ र ‘नाइट लाइनर’ को कार्यान्वयन गर्ने योजना समेटेका छन्।

रोजगारी सिर्जनाका लागि व्यावसायिक तालिम केन्द्रको स्थापना र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई प्रशिक्षकका रूपमा नियुक्त गर्ने नीति लिइने वाचापत्रमा उल्लेख छ। साथै तीन सिफ्टमा कार्य सम्पादन गर्ने नीतिगत व्यवस्था गर्ने उनले वाचा गरेका छन्।

यसका साथै लालपूर्जाविहीन समुदायलाई नियमसंगत जग्गाधनी पूर्जा वितरणको व्यवस्था, सडक स्तरोन्नति गर्दा वितरण नभएका मुआब्जा नीतिसंगत वितरणका लागि संघीय संसद्मार्फत पहल गर्ने, जलविद्युतका हाइटेन्सन लाइनबाट प्रभावित स्थानीयलाई नियमसंगत मुआब्जा र क्षतिपूर्ति वितरण तथा व्यवस्थापनको विकल्प खोजी गर्ने उनको प्रतिबद्धता छ। साथै उनले समावेशी, विकास, युवा तथा खेलकुद र सुरक्षाका विषयलाई पनि वाचापत्रमा समेटेका छन्।

विगतमा श्रममन्त्री हुँदा प्राप्त अनुभवलाई प्रयोग गर्दै काठमाडौँ क्षेत्र नं. ९ लाई देशकै नमुना क्षेत्र बनाउन आफू लागिपर्ने बताउँदै अर्यालले आगामी निर्वाचनमा ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई अपिलसमेत गरेका छन्।

 

 

प्रकाशित: ५ फागुन २०८२ १६:५९ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast