काठमाडौँ- चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ ले ८ करोड ३१ लाख भन्दा बढी कमाउन सफल भएको छ।
चलचित्र विकास बोर्डले फागुन २ गतेसम्म हलमा प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। विवरणअनुसार फिल्मले ८ करोड ८७ हजार ७ सय ८९ रुपैयाँ कलेक्सन गरेको छ। फिल्मको ३ लाख १० हजार ३ सय २३ वटा टिकट बिक्री भएको छ।
फिल्म गत माघ १६ देखि हलमा प्रदर्शनरत छ। फिल्मलाई दर्शकले निकै रुचाएका छन्।
फिल्मको कथामा आमा बुबा र छोराबीचको सम्बन्ध र वैदेशिक रोजगारीको खोजीमा विदेश पुगेका नेपालीको कथामा आधारित छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली, रचना गौतमलगायत कलाकारको अभिनय छ।




