काठमाडौँ- नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरु मतदानको आधार नबन्ने स्पष्ट पारेको छ।
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चुनावी आंकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताएका हुन्।
उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने बताए। प्रवक्ता चालिसेले निर्वाचनपछिको मतदेशलाई कांग्रेसले सहज रुपमा स्वीकार गर्ने समेत बताए।
उनले आसन्न निर्वाचनमा कांग्रेस एकताबद्ध भएर अघि बढेको उल्लेख गरे। पार्टीका उम्मेदवारहरू सिद्धान्तका प्रतीक भएकाले उनीहरुलाई विजयी गराउने दायित्व सबै नेता तथा कार्यकर्ताहरुको भएको उनको भनाइ छ। उनले फागुन ३ गते आइतबार चुनावी घोषणापत्र जारी गरेपछि नियमित प्रचारका साथै घोषणापत्रसँग सम्बन्धित अन्य कार्यक्रमहरू पनि आयोजना गरिने जानकारी दिए।
प्रवक्ता चालिसेले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन र विकास समयसीमा सहितको कार्ययोजना घोषणा पत्रमा उल्लेख गरिने बताए। त्यसैगरी शासकीय सुधारका विषय र जनतासँग जोडिएका अन्य विषयलाई पनि कांग्रेसले प्राथमिकतामा राख्ने उनको भनाइ छ।
प्रवक्ता चालिसेले फागुन ६ गते जनकपुरबाट औपचारिक रूपमा चुनावीसभा सुरू गरिने बताए। उनले जनकपुरमा ‘विशाल आमसभा’ गर्ने तयारी गरिएको बताए।
‘फागनु ६ गते सहिद नगरी, ऐतिहासिक नगरी जनकपुरमा हामीले पार्टीको विशाल आमसभाबाट औपचारिक आमसभाको पनि सुरूआत गर्दैछौँ,’ उनले भने,‘त्यसपछि आवश्यकताअनुसार देशका विभिन्न स्थानमा चुनावी गर्नेछौँ।’




