काठमाडौँ – नेकपा एमालेले लोकप्रियवादका भ्रमबाट सचेत रहन आह्वान गरेको छ।
शनिबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थलाई बुझ्दै लोकप्रियवादका भ्रमबाट सचेत रहन आह्वान गरेको हो।
राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहने एमालेको बुझाइ छ। त्यस्तै एमालेले स्थायीत्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुने जनाएको छ।
एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत समृद्धि हासिल गर्ने दीर्घकालीन सोचसहित अघि बढ्ने संकल्प लिएको भन्दै राष्ट्र निर्माणको अभियान सफल बनाउन आह्वान समेत गरेको छ।
पत्रकार सम्मेलनमा एमाले आम निर्वाचन प्रेस संयोजक मीन बहादुर शाहीले विचार, नीति र सिद्धान्तका आधारमा राजनीतिक दलहरु चल्नुपर्ने भन्दै लोकप्रियवादका आधारमा मुलुकको विकासको मार्गचित्र तयार हुन नसक्ने बताए। सुशासन, भ्रष्टाचार अन्त्य लगायतका विषयमा जेनजी पुस्ताले उठाएका मुद्दाहरुप्रति एमाले सदैव सकारात्मक रहेको भन्दै उनले आन्दोलनका नाममा हुने हिंसा, विध्वंश स्वीकार्य नहुने स्पष्ट पारे।
शाहीले एमाले नेतृत्वको सरकारले मुलुकलाई समृद्धि र विकासको बाटोमा अघि बढाए पनि अझै पूर्ण हुन बाँकी रहेको धारणा राखे। आगामी निर्वाचनको सन्दर्भमा देशको स्थायित्व, विकास र समृद्धिको अभियानलाई अझ सशक्त बनाउन समेत एमालेले आह्वान गरेको छ।




