यूएनकी आवासीय संयोजकले बुझाइन् प्रधानमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र

हिमाल प्रेस २६ माघ २०८२ २१:२८ | Monday, February 9, 2026
8
SHARES
यूएनकी आवासीय संयोजकले बुझाइन् प्रधानमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र

काठमाडौँ- नेपालका लागि संयुक्त राष्ट्र स‌ंघका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज (सोमबार) प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी छन्।

नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटी आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी हुन्। राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा नेपालमा आफ्नो कार्यकाल सुरु गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले नवनियुक्त संयोजक याहियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन्। साथै उनले सुन्दर देश नेपालको बसाइँ सुखद रहने विश्वास पनि व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले भेटका अवसरमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति तथा लोकतन्त्रको बाटो हिँडाउन आफ्नो नेतृत्वको सरकार लागिपरेको जानकारी पनि दिइन्। यस क्रममा संयुक्त राष्ट्र संघलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि उनले धन्यवाद पनि ज्ञापन गरिन्।

यो सरकारको मुख्य कार्यादेशमध्ये निर्वाचन सम्पन्न हुने चरणमा पुगेको तथा भदौ २३ र २४ का घटनाको जाँचबुझ आयोगले पनि आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिइन्।

नवनियुक्त संयोजक याहियाले विषम् परिस्थितिमा प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुन गइरहेकामा बधाई दिँदै यस प्रक्रियामा पूर्ण सफलता मिल्ने भन्दै शुभकामना व्यक्त गरिन्।

प्रकाशित: २६ माघ २०८२ २१:२८ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast