राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ को उम्मेदवार छन्। उनी यतिबेला चुनावी अभियानअन्तर्गत घरदैलोमा छन्। २०७९ को चुनावमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएका बुर्लाकोटी यसपटक रास्वपामा देशव्यापी लहर आएको दाबी गर्दै उत्साहित छन्। चुनाव परिणाम आफ्नो पक्षमा हुनेमा उनी विश्वस्त छन्। उनको चुनावी अभियानका सन्दर्भमा रमेश दवाडीले गरेको कुराकानी :
चुनावी अभियान कस्तो भइरहेको छ?
अहिले भेटघाट चलिरहेको छ। फाुगन ४ गतेदेखि प्रचारप्रसारको अभियान चल्छ। गोरखा-२ को ३८ वटै वडा, वडाभित्र रहेका ६५० टोल मध्ये आधाभन्दा बढीमा पुग्दै छौँ। नजिकका जिल्लामा पनि आवश्यक पर्दा गएर सम्बोधन गर्ने काम भइरहेको छ।
मत माग्न मतदाताको घरदैलोमा पुग्दा उहाँहरूको अपेक्षा के पाउनुभयो?
सुशासनको कुरा छ। वडादेखि पालिका हुँदै केन्द्रसम्म भएको भष्टाचार, बेथिति, कुशासनविरुद्ध सुशासन ल्याउनुपर्यो, विकास निर्माण अलपत्र पर्यो, भ्रष्टाचारले गर्दा विकास निर्माणमा बजेट कम भयो, भ्रष्टाचार रोकेर विकास निर्माणलाई गति दिनुपर्यो, बन्द उद्योग खोल्नुपर्यो, नयाँ उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्यो, देशबाहिर भएका युवालाई स्वेदश फिर्ता हुने वातावरण बनाउनुपर्यो, शिक्षा, स्वास्थ्यमा व्यापक सुधार ल्याउनुपर्यो भन्नुभएको छ। जनजीविकामा सुधार ल्याउन यस अगाडिका प्रयत्नहरू सफल भएनन् र अब तपाईँहरूले गर्नुपर्यो भन्ने मतदाताका कुरा छन्।
विगतका चुनावी नतिजाअनुसार यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस बलियो मानिन्छ। आफ्नो मुख्य प्रतिस्पर्धीको रूपमा कसलाई हेर्नुभएको छ?
देशमा व्याप्त भ्रष्टाचार, बेथिति, कुशासनको चपेटामा परेका नागरिकले यसपटक मत परिवर्तन गर्ने र नयाँ पार्टीलाई काम गर्न दिने आशय देखिन्छ। त्यसकारण चुनावमा रास्वपा विजयी हुने देखिन्छ। प्रतिस्पर्धा को हुन्छन् भन्ने सर्वेक्षण गरेका छैनौँ।
यहाँ पार्टीको महामन्त्री हुनुहुन्छ। पार्टीलाई नै जिताउनुपर्ने जिम्मेवारी छ। आफ्नो चुनावी अभियान र पार्टीको जिम्मेवारीलाई कसरी मिलाउनुभएको छ?
अचेल पार्टीका बैठकहरू भर्चुअल हुन्छन्। फोनबाटै धेरै काम हुन्छन्। पार्टी चुनाव केन्द्रित भएका कारण धेरै निर्णय गरेर चुनावमा होमिएका हौँ। अब चुनावमा केन्द्रित हुने हो। जिल्ला, क्षेत्र केन्द्रित भएर काम गर्न सबैलाई निर्देशन भइसकेको छ। सोहीअनुसार समय व्यवस्थापन गरिरहेको छु।
डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट सहयोग हुनेमा कत्तिको आशावादी हुनुहुन्छ?
डा.बाबुराम भट्टराईसँग धेरै संवाद गरेपछि उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँले उम्मेदवारी फिर्ता लिनुभएपछि सार्वजनिक अभिव्यक्तिमा पनि नयाँलाई बाटो खुला गर्नका लागि मैले उम्मेदवारी फिर्ता लिएको छु भन्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीलगायत देशैभर उदाएका नयाँ पार्टीहरूलाई साथ दिनुपर्छ भन्नुभएको छ। गोरखाको सन्दर्भमा डा.बाबुराम भट्टराई, प्रलोपाका साथीहरूले सहयोग गरिराख्नुभएको छ। औपचारिक रूपमा केही कुराहरू केही दिनमा आउला भन्ने लाग्छ।
गोरखा-२ मा संगठन छैन, रास्वपाको लहर मात्रै हो भनेर त्यहाँका मानिसले भनेका छन्। चुनाव जित्न त बलियो संगठन पनि चाहिएला। यसलाई कसरी लिनुभएको छ?
धेरै ठाउँमा संगठन बनेका छन्। नभएका ठाउँमा बनाउने क्रम जारी छ। चुनाव जित्ने आधार भनेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको जुन आशा देखिएको छ, त्यो नै महत्त्वपूर्ण हो। त्यसमा हाम्रो संगठनले पनि काम गरिरहेको छ। हाम्रो एजेन्डा, जनताले देखाएको आशा, पार्टीप्रति जनताको जुन विश्वास छ, अरूलाई हेरियो यसपटक रास्वपालाई हेरौँ भन्नुभएको छ।
२०७९ को चुनावपछि तपाईँ जिल्ला फर्किनुभएन, काठमाडौँमै बस्नुभयो, विकासका काम गर्नु भएन भन्ने मतदाताका गुनासा छन्। यसबारे के भन्नुहुन्छ?
पटकपटक जिल्ला आएर संगठन निर्माण गरेको छु। कतिपय साथीहरूले सूचना पनि नपाएको हुन सक्छ। २७ वटा वडामा संगठन निर्माण हुँदै गर्दा आधाभन्दा बढीमा आफैँ उपस्थित भएर काम गरेको छु। जिल्लाका विकास निर्माणलाई केन्द्रीय तहमा, मन्त्रालय तहमा, लविङ गर्ने र त्यो कामलाई निरन्तता दिने काम गरिरहेको छु। पार्टी निर्माणमा अलि बढी समय दियौँ। पार्टी एक हदमा निर्माण भइसकेको कारणले गर्दा अबको समय जिल्ला र क्षेत्र केन्द्रित हुने गरी तयारी गरेको छु।
गोरखा-२ मा तपाईँबाट विकासको काम नै भएको छैन भन्ने मतदातालाई के भन्नुहुन्छ?
यसअघि सरकारमा गएर बजेट निर्माण गर्ने ठाउँमा हामी थिएनौं। बजेट छुट्याएका ठाउँ, ठेक्कापट्टा भएका ठाउँमा ढिलासुस्ती भएका ठाउँहरूमा मसिनोसँग कार्यान्वयन गर्नका लागि प्रयासहरू गर्यौँ। जस्तै : मध्यपहाडी लोकमार्ग ढिलासुस्ती भएर अड्किएको थियो। त्यसमा दबाब दिएर गति दिने काम गर्यौँ। सीडीओ कार्यालयलाई पनि विकास निर्माणका काममा प्रभावकारी अनुगमनका लागि अनुरोध गरेका छौँ। विकास निर्माणका काममा हामीले गरेका प्रयत्नबाट प्रतिफल दिएका छन्।
बाबुराम दाइको सदासयता मप्रति छ : प्रकाशचन्द्र दवाडी [अन्तरवार्ता]




