काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन्।
आइतबार काठमाडौँमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सवैको अधिकार स्थापीतका साथै दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि देशमा राजनीतिक स्थायित्व आवश्यक भएको बताएका हुन्।
राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्न सके मात्रै राजनीतिक स्थायित्व सम्भव हुने उनाल बताए। राष्ट्रपति पौडेलले सबै जाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य रहेको र संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही भएको धारणा राखे।
राष्ट्रपति पौडेलले आदिवासी ज्ञान प्रणालीहरू केवल परम्परामा सीमित नभई सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ पनि भएको बताए।
उनले सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक र नीतिगत बहसको मूलधारमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरे।



