दीपमालाले पाइन् ‘मिस नेपाल हङकङ-२०२६’ को उपाधि

ताजसँगै क्यान्सर अस्पतालको गुडविल एम्बास्डर

हिमाल प्रेस २३ माघ २०८२ १४:२२ | Friday, February 6, 2026
66
SHARES
दीपमालाले पाइन् ‘मिस नेपाल हङकङ-२०२६’ को उपाधि

काठमाडौँ- मिस नेपाल हङकङ २०२६ को उपाधि दीपमाला खरेल ढकाललाई प्रदान गरिएको छ। हङकङको इटन होटलमा बिहीबार आयोजित ‘ग्रान्ड कोरोनेसन’ समारोहमा उनलाई ताज पहिराइएको हो। मिस नेपाल हङकङको ताज मिस नेपाल वर्ल्ड २०२४ की विजेता आश्मा कुमारी केसीले पहिराइ दिएकी थिइन्।

मिस नेपाल हङकङ दीपमालाले अब २०२६ मा आयोजना हुने मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछिन्। उनी मिस नेपाल हङकङ भएपछि हिमाल प्रेससँग कुरा गर्दै भनिन, ‘म निकै खुसी छु। साथै ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेकी छु। हिजोसम्म म परिवारको कान्छी छोरी थिए। अब पुरै हङकङकी छोरी भएर नेपाल आउनेछु र प्रतिस्पर्धा गरेर हङकङ बासी नेपालीको शिर थप उँचो गर्नेछु। मिस नेपाल ताज र सामाजिक कार्य नै मेरो अबको लक्ष्य हो।’

यसपटक दीपमाला सिधैँ मिस हङकङ एपोइन्ट भएकी हुन्। आयोजकका अनुसार प्रतियोगिताको गरिमा, विश्वसनीयता र निष्पक्षतालाई प्राथमिकताका साथ हङकङबासीहरुको साथ लिएर द हिडन ट्रेजरले उक्त निर्णय गरेको हो। उपाधि पाएपछि उनले भनिन् ‘हङकङमा रहेको नेपाली समुदाय र नेपालको मौलिकतालाई  विश्वसामु चिनाउन प्रयास गर्नेछु। मलाई खुसीसँगै अधिक जिम्मेवारको अनुभूति भएको छ। जन्म कहाँ हुन्छ आफ्नो छनौटमा पर्दैन तर कहाँ र के काम गर्ने छनौट त आफ्नै हुन्छ नि। ’

दीपमाला विश्वकै ठूला लगानी कम्पनीमध्ये एक ब्ल्याक रकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन्। हङकङमै जन्मेर हुर्किएकी उनले त्यहीँ आफ्नो ग्राजुयट हुने वित्तिकै ब्ल्याक रकमा काम गर्न पुगेकी हुन्। व्यावसायिकसँगै दीपमाला बहुआयामिक व्यक्तित्वकी धनी छिन्। उनी हङकङ म्याराथनमा सहभागी धावक, तेक्वान्दो खेलाडी, कुशल कार्यक्रम प्रस्तोता, टेड स्पिकर, रन वे मोडलिङ र हङकङ टोस्ट मास्टरसमेत हुन्।

शिक्षा, खेलकुद, कला र व्यवस्थापन क्षमताको सन्तुलित संयोजन नै उनलाई अरू भन्दा फरक बनाउने मुख्य आधार बनेको हो। मेहनत, मेधाविता र व्यावसायिक क्षमताकै आधारमा उनले यति प्रतिष्ठित ब्ल्याक रक जस्तो अन्तर्राष्ट्रिय कम्पनीमा अवसर पाएको आयोजक र निर्णायकहरूको भनाइ छ। यद्यपि उनी आफ्नो नेपाली पहिचानप्रति दृढ छिन्। नेपाली पासपोर्ट बोकेकी छन् र नामको पछाडि आमा-बुवा दुवैको थर प्रयोग गर्छिन्।

मिस नेपाल हङकङकाे उपाधि लिने क्रममा उनलाई नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले ‘गुड विल एम्बास्डर’ उपादि दिएको छ। यो पहिचानले सामाजिक क्षेत्रमा काम गर्न थप हौसला मिल्ने विश्वास आयोजक संस्थाले लिएको छ। कार्यक्रममा द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए। मिस नेपाल हङकङ २०२६ हिडन ट्रेजरले एपोन्ट गरेको हो। व्यक्तिको क्षमता पहिचान गरेर पनि यसरी एपोइन्ट गर्ने प्रथा द हिडन ट्रेजरमा छ।

द हिडन ट्रेजरको प्रतिनिधित्व गर्दै नेपालबाट रचना गुरुङ शर्मा समारोहमा सहभागी भएकी थिइन्। उनी मिस नेपाल प्रतियोगिताकी क्रिएटिभ डाइरेक्टर तथा कोरियोग्राफर हुन्। हङकङमा भने हिडन ट्रेजरका हङकङ निर्देशक एवं संयोजक मनिस लिम्बुले सबै तय गरेका थिए।

आयोजक संस्थाका प्रतिनिधि लिम्बुमा अनुसार हङकङबाट छानिएर नेपालमा हुने मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउँदा हङकङको साख, विश्वसनीयता र स्तर प्रतिनिधित्व हुने विश्वास लिएका छौँ। यही कारण मिस नेपाल हङकङ  विजेतालाई सिधै मिस नेपालमा सहभागी गराउने नीति हिडन ट्रेजरले लिएको पनि उनले बताए। समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका चर्चित व्यक्तित्व, व्यवसायी, हङकङ स्थित नेपाली महाबाणिज्य दूतावासका अधिकारीहरु तथा प्रवासी नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो।

मिस नेपाल हङकङले मिस नेपालमा भाग लिन पाउने र मिस नेपाल विजेताले मिस वर्ल्ड, मिस अर्थलगायत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। प्रवासमा रहेका नेपाली पनि यो मञ्चमा समेट्ने उद्देश्यले द हिडन ट्रेजरले मिस नेपाल नर्थ अमेरिका, मिस नेपाल अस्ट्रेलिया-ओसियाना, मिस नेपाल हङकङ र मिस नेपाल युरोप लगातसँग सहकार्य गर्दै आएको छ।

प्रकाशित: २३ माघ २०८२ १४:२२ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast