काठमाडौँ- व्यापारिक सहर हङकङको प्रसिद्ध पर्यटकीय स्थल ‘द पिक’ मा क्यान्सर सचेतना तथा फन्डरेजिङ हाइकिङ कार्यक्रम गरिएको छ।
मिस नेपाल हङकङ इन्टरनेसनल दीपमाला खरेलको संयोजन तथा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमले पर्सा जिल्लाका आर्थिक रूपमा विपन्न दुई सय महिलाहरूलाई नि:शुल्क क्यान्सर स्क्रिनिङको लागि आर्थिक सहयोग जुटाउने मुख्य लक्ष्य राखेको थियो।
कार्यक्रममा १३० भन्दा बढी सहभागीहरू उपस्थित थिए। सहभागीहरूको उत्साह र ऊर्जा देखेर आयोजक दीपमाला भावुक बनेकी थिइन्। दीपमालाले कार्यक्रममा भनिन्, ‘यो केवल हाइकिङ होइन, नेपाली समुदायको सामूहिक चेतना र सहयोगको अभियान हो।’
एक पटक क्यान्सर परीक्षण गरिएको क्षेत्रमा पाँच वर्ष नजाने अस्पतालको नीति अनुसार यो वर्ष पर्साको ‘श्री भवानी भिलेज’ परेको हो। अभियानले विशेष गरी सर्भिकल क्यान्सर र ब्रेस्ट क्यान्सरको प्रारम्भिक पहिचान, सचेतना तथा नि:शुल्क स्क्रिनिङमा जोड दिँने जानकारी पनि नेपाल क्यान्सर अस्पताल हरिसिद्धिकी एम्बास्डर मिस नेपाल हङकङ इन्टरनेसनल दीपमालाले बताइन्।
नेपाल क्यान्सर अस्पतालका चिकित्सक तथा नर्सहरूको टोली गाउँमा नै पुगेर प्रत्यक्ष परीक्षण, परामर्श र उपचारमा संलग्न हुने योजनामा छ।
आयोजकहरूका अनुसार क्यान्सर अन्तिम चरणमा पुगिसकेपछि उपचार अत्यन्त महँगो र जटिल हुन्छ। तर प्रारम्भिक चरणमा पत्ता लागेमा पूर्ण रूपमा निको पनि पार्न सकिने हुनाले यस्तो परिक्षण विभिन्न गाउहरुमा गरिँदै आएको छ।

धेरै नेपाली महिलाहरू क्यान्सर लक्षणहरूबारे पर्याप्त सचेत नभएको र आर्थिक अभावका कारण नियमित जाँच गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यो अभियान अघि बढाइएको पनि उनले बताइन। यसपटक नेपालको तराई भेग पर्सालाई विशेष प्राथमिकता दिइएको छ। उनले भनिन्,‘त्यहाँ आर्थिक अवस्था कमजोर भएका महिलाहरूको संख्या ठूलो छ।’
यो कार्यक्रम हाइकिङमा मात्र सीमित रहेन। यो नेपाली प्रवासी समुदायको एकता, सहयोग र मानवीय भावनाको सुन्दर नमुना बन्यो। हङकङमा बसोबास गर्ने नेपालीहरूले ‘नेपालीले नेपालीलाई सहयोग गर्ने’ भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको पनि उनले बताइन्।
केही सहभागीहरूले आउँदा दिनमा नेपाल नै गएर स्वास्थ्य टोलीसँगै प्रत्यक्ष काम गर्ने योजना समेत बुनेका छन्। हाइकिङमा नेपाली समुदायका साथै विदेशीमुलका विद्यार्थीहरू (चीन, भारत, अमेरिका, युरोपेली र फिलिपिनोलगायत) र स्थानीयहरूको पनि उल्लेखनीय उपस्थिति थियो।
नेपाली महावाणिज्य दूतावास हङकङ तथा अन्य सरकारी निकायसँग सम्बद्ध व्यक्तिहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमा प्रदान गरेको थियो। सगरमाथा आरोहण गरिसकेका व्यक्तित्वहरू, अल्ट्रा धावकहरू, सामाजिक अभियन्ताहरू र विशेष गरी ‘हङकङको चितुवा’ भनेर चिनिने चर्चित धावकको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको पनि जानकारी दिइएको थियो।
कन्सुलेट जनरलका अधिकारीहरू भन्छन्,‘मिस हङकङ इन्टरनेसनलको सहभागिताले युवा पुस्तालाई पनि प्रेरणा दिएको देखिन्थ्यो। फन्डरेजिङ र सहयोगको उत्साहकार्यक्रममा प्रतिसहभागी न्यूनतम २०० हङकङ डलर शुल्क तोकिएको थियो जसमा टिसर्ट र खानाको व्यवस्था समावेश भएको पायौँ। सहभागीहरूले तोकिएको रकमभन्दा निकै बढी सहयोग गरेका थिए।’

केहीले दुई सयदेखि चार हजार हङकङ डलरसम्म सहयोग गरेको आयोजकले जानकारी दिए। वर्षाका कारण केही असुविधा भए पनि सहभागीहरूको उत्साहमा कुनै कमी आएन। आयोजकहरूका अनुसार मौसम अनुकूल भएको भए सहभागी संख्या दोब्बर हुने थियो।
यो अभियानले क्यान्सरबारे सचेतना फैलाउनुका साथै प्रवासमा रहेका नेपाली समुदायमा सामाजिक उत्तरदायित्व र एकताको भावना अझ मजबुत बनाएको विश्वास आयोजकको छ। सहभागीहरूले भनेका छन्,‘हामीले पैसा मात्र होइन, आशा र जीवन पनि दिन खोजेका छौं।’
समाजिक सञ्जालमा पनि यो कार्यक्रम व्यापक रूपमा चर्चित छ। दीपमाला खरेल र मिस नेपाल हङकङ इन्टरनेसनलका आधिकारिक पृष्ठहरूमा कार्यक्रमका सुन्दर तस्बिरहरू र भिडियोहरू सेअर भइरहेका छन्। यो कार्यक्रमले प्रमाणित गरेको छ कि दूरीले नेपालीहरूको भावनालाई अलग गर्न सक्दैन।
हङकङको दी पिकमा उक्लिएका यी पाइलाहरूले पर्साका विपन्न महिलाहरूको जीवनमा नयाँ आशाको किरण फैलाउने विश्वास गरिएको छ। नेपाली समुदायको यस्ता सामूहिक प्रयासहरूले राष्ट्रियस्तरमा नै सकारात्मक प्रभाव पार्ने कुरामा कुनै शंका छैन।




