आफू ‘संकटका सारथि’ भएको दाबी गर्दै महेश बस्नेतले भने : समृद्ध भक्तपुर बनाउने छु

हिमाल प्रेस १९ माघ २०८२ १३:२३ | Monday, February 2, 2026
6
SHARES
आफू ‘संकटका सारथि’ भएको दाबी गर्दै महेश बस्नेतले भने : समृद्ध भक्तपुर बनाउने छु

भक्तपुर- नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले आफूलाई ‘संकटका सारथि’का रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो नेतृत्वमा भूकम्पले तहसनहस बनाएको भक्तपुरलाई पुनः उठाउने अभियानदेखि लिएर शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव भएको उनको दाबी छ।

बस्नेतले भने, ‘यो समय केवल एउटा कार्यकाल थिएन, यो विकासको अभियान थियो, योजनाले मात्र होइन, दृढ इच्छाशक्ति र निरन्तर मेहनतले यो सम्भव भएको हो।’ २०७२ सालको भूकम्पपछि भक्तपुरका धेरै विद्यालय, ऐतिहासिक सम्पदा र धार्मिक संरचना भत्किएका थिए। ती संकटपूर्ण अवस्थाबाट भक्तपुरलाई उठाउन आफूले नेतृत्वदायी भूमिका खेलेको बस्नेतको भनाइ छ।

उनका अनुसार भूकम्पले ढालेका विद्यालयहरू पुनः निर्माण भए, मठ-मन्दिर, पाटी-पौवा जस्ता सांस्कृतिक धरोहरहरू पुनर्जीवित भए । ‘ऐतिहासिक सम्पदा पुनर्निर्माण मात्र होइन, भक्तपुरको पहिचान जोगाउने अभियान पनि थियो,’ उनले उल्लेख गरे। बस्नेतले आफ्नो कार्यकालमा पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जनामा तीव्र प्रगति भएको दाबी गरे।

उनले भक्तपुरलाई केवल ऐतिहासिक सहरको रूपमा होइन, अवसर र समृद्धिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको बताए। बस्नेतले आफू केवल भाषण र नीति बनाउने नेता नभई काम गरेर देखाउने ‘समृद्ध भक्तपुरको सारथि’ बन्न चाहेको स्पष्ट पारे। ‘म केवल नीति बनाउने नेता होइन, समृद्ध भक्तपुर बनाउने सारथि बन्न चाहन्छु,’ उनले भने।

बस्नेतले भक्तपुरमा अझै धेरै काम अधुरा रहेको भन्दै आगामी कार्यकालमा विकासको गति अझ बढाउने प्रतिबद्धता जनाए।

‘अझै अधुरा काम पूरा गर्न बाँकी छन्, विकासको गति अझ तीव्र बनाउन बाँकी छ, भक्तपुरलाई अवसर, रोजगारी र समृद्धिको केन्द्र बनाउन बाँकी छ,’ उनले भने। उनले आफू यी कुरामा प्रतिबद्ध रहेको र त्यो प्रतिबद्धता कामबाट प्रमाणित गर्ने विश्वास दिलाए। भक्तपुर क्षेत्र नं २ मा एमाले सचिव महेश बस्नेतलाई ‘संकटका सारथि’का रूपमा समर्थकहरूले प्रचार गरिरहेका छन् भने निर्वाचन नजिकिँदै जाँदा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

प्रकाशित: १९ माघ २०८२ १३:२३ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast