पोखरा- सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको वालिङमा स्कुटर र मोटरसाइकल ठोक्किएका छन्। उक्त दुर्घटनापछि भएको झगडामा आपसी कुटाकुट हुँदा तीन जना घाइते भएका छन्।
शनिबार राति करिब सवा १२ बजे वालिङ-८, जैसिपधेँरास्थित होटल रोयल अगाडि वालिङबाट बयरघारीतर्फ जाँदै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र विपरीत दिशातर्फ जाँदै गरेको लु ६८ प ५३४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार दुर्घटनापश्चात् दुवै पक्षबीच झगडा भएको हो। जसमा वालिङ-८ बस्ने वर्ष ३२ का अजिम खान, भिरकोट १ बस्ने वर्ष ३२ का अनुप श्रेष्ठ र सोही ठाउँका वर्ष ४० का रामसेन ठकुरी घाइते भएका छन्।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा उपचार भइरहेकोमा रामसेनलाई थप उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रेफर गरिएको छ। उनको मुखमा चोट लागेको छ।
प्रहरीले झगडामा संलग्न रहेका स्याङ्जाको भिरकोट-२ निवासी २४ वर्षीय चन्दन केसीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ। घटनापछि वडा प्रहरी कार्यालय, वालिङबाट प्रहरी निरीक्षक रमेश तिमिल्सेनाको कमाण्डमा प्रहरी टोली खटिएको थियो।



