सहिदको बलिदानीलाई बेवास्ता गर्ने छुट हामी कसैलाई छैन : बालेन शाह

हिमाल प्रेस १६ माघ २०८२ ७:५४
10
SHARES
सहिदको बलिदानीलाई बेवास्ता गर्ने छुट हामी कसैलाई छैन : बालेन शाह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सहिदको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई नभएको बताएका छन्।

आज सहिद दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले नेपाली इतिहासमा पटकपटक भएका आन्दोलन र सहिदको बलिदानको स्मरण गरेका हुन्।

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको आज ८५ वर्ष पुगेको उल्लेख गर्दै उनले त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भए पनि राज्य जनताको बन्न नसकेको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्,‘८५ वर्षमा पटकपटक व्यवस्था फेरियो तर सत्ताको चरित्र फेरिएन। पटकपटक नेपाली जनता सहिद भए तर सहिदका सपना अझै पूरा हुन सकेनन्।’

बालेनले पछिल्लो समय भदौको ‘जेन्जी आन्दोलन’ का क्रममा सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले समेत आफ्नो अमूल्य जीवन बलिदान दिनुपरेको उल्लेख गरेका छन्।

उनका अनुसार अहिले मुलुक सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेको छ। ‘लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउने दायित्व हाम्रो काँधमा छ,’ उनले भनेका छन्।

त्यस्तै, राज्यका निकायहरूमा व्याप्त चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याएका छन्।

प्रकाशित: १६ माघ २०८२ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast