वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै

हिमाल प्रेस ९ माघ २०७९ १२:३७
4
SHARES
वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै

जुम्ला- यहाँ हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ। गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान त्रिपुरा न्यौपानले बताए।

हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको तिला गाउँपालिका किसान बताउँछन्। लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने कषि विकास कार्यालयका प्रविधिक सुकिराम नेपालीको भनाइ छ।

यस वर्ष हिउँदे खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने भन्ने चिन्ता किसानमा छ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य संकट निम्तिने किसान बताउँछन्। सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएका छैनन्। छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेपछि ४० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ।

हिउँदे बालीका लागि आकाशे वर्षा लामो समयसम्म नहुनु र सिँचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा पनि संलग्न रहेका छन्।

प्रकाशित: ९ माघ २०७९ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =