तुवाचुङमा पाठेघर खस्ने समस्या भएका १३ महिलाको सफल

हिमाल प्रेस १३ माघ २०८२ ९:००
6
SHARES
तुवाचुङमा पाठेघर खस्ने समस्या भएका १३ महिलाको सफल

खोटाङ- पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ। नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो समस्या पहिचान भएका २२ महिलामध्ये पहिलो चरणमा १८ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको शल्यक्रिया भएको हो।

अस्पताल आवतजावत, उपचार, खानेबस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी पाठेघर खस्ने समस्या महिलालाई निःशुल्क उपचार गराउन अस्पताल लगिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।

‘पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो। अस्पताल लगिएकामध्ये १३ महिलाको सफल शल्यक्रिया भएको छ, चार जनाले अस्पताल जान अस्वीकार गरेका छन्। अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर पठाएको छ । तीन जनालाई पुनः बोलाएको छ’, उनले भनिन्।

निःशुल्क उपचार गर्ने व्यवस्थासहित बिरामी महिला र उनीहरुका एक–एक जना कुरुवालाई नगरपालिकाले बनेपा पुर्याएको थियो। अस्पताल लगिएकामध्ये दुई जनामा रक्तचाप र एक जना महिलामा मधुमेहका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भएपछि पुनः अस्पतालले बोलाएको नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत अहेव विवेक पराजुलीले जानकारी दिए।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो हलेसी तुवाचुङ नगरपालिकामा पाठेघर खस्ने समस्या भएका महिलामध्ये अधिकांश वृद्धावस्थाका छन्। एघार वडा रहेको यो नगरपालिकाले गत वर्ष ४१ जना महिलाको शल्यक्रिया गराएको थियो।

लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिला पछिल्लो समय खुलेर उपचार गराउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरमा समस्या देखिएका ३६ जना महिलामध्ये १८ जनालाई माघ ८ गते सोही अस्पताल लगेको छ। बाँकी रहेका १८ जनालाई केही दिनभित्र लगिने स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए। करिब तीन वर्ष अगाडि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला आउँदैन थिए। तर, अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा जिल्लाका दशवटै स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको उपचार गराइरहेका छन्। पाठेघर खसेको पहिलो र दोस्रो चरणसम्मका समस्या भएका महिलाको वडा वडामै उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई बनेपास्थित शीर मेमोरियल अस्पताल बनेपा लगेर उपचार गराउने गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले गत पुसमा प्रजनन रुग्णता शिविर सञ्चालन गरेका थिए।

शिविरमा करिब एक हजार २०० बढी महिलाले पाठेघर परीक्षण गरेका छन्। रावाबेँसी गाउँपालिकाको शिविरमा शल्यक्रिया गर्नुपर्ने २१ जना महिला भेटिएको र उनीहरूलाई पनि चाँडै सोही अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिए।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र जन्तेढुंगा गाउँपालिकाले शिर मेमोरियल अस्पताल लगेर पाठेघरको समस्या भएका महिलाको उपचार गराउँदै आएका छन्। पाठेघरसम्बन्धी बिरामी महिलासहित कुरुवाका लागि अस्पतालसम्म आवतजावत, खाना तथा बस्नका लागि स्थानीय तहले निःशुल्क व्यवस्थापन गर्दै आएका छन्। रासस

प्रकाशित: १३ माघ २०८२ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast