सिरहा- लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्येष्टि गरेको पाइएको छ। जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको हो।
गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो।
रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुबा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए। आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा त्यहाँ शव फेला पारेनन्।
अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गरेका छन्। उनले भने, ‘यो अस्पताल प्रशासनको गम्भीर लापरबाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ।’
छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भएका छन्। उनले भने, ‘छोरीलाई समयमै बचाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन, कम्तीमा लास त हेर्न पाइएला कि भनेर अर्को देशबाट आयौँ तर अस्पतालको लापरबाहीले त्यो पनि सम्भव भएन।’
शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरे। त्यसक्रममा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरिएको थियो। रासस



