स्थानीय तहसम्म संगठन विस्तार गर्ने विद्यालय कर्मचारी परिषद् भेलाको निर्णय

हिमाल प्रेस ११ माघ २०८२ १०:२६ | Sunday, January 25, 2026
10
SHARES
स्थानीय तहसम्म संगठन विस्तार गर्ने विद्यालय कर्मचारी परिषद् भेलाको निर्णय

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले पहिलोपटक तथा प्रदेशस्तरीय दोस्रो जागरण अभियानअन्तर्गत शनिबार प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ। राष्ट्रिय समितिको गत पुस १२ गतेको निर्णय अनुसार नेतृत्व क्षमता अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणका कार्यक्रमहरू सम्पन्न भएका हुन्।

कार्यक्रम प्रदेश समितिका सचिव दुधराज चौधरीले सञ्चालन गरेका थिए भने सभापतित्व प्रदेश समितिका अध्यक्ष गोविन्द घर्तीले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी रहेका थिए।

विशेष अतिथिमा महासचिव शान्तिनाथ योगी सहभागी थिए भने उपमहासचिव डम्बर ओली, राससका प्रतिनिधि मीनेश श्रेष्ठ, दाङ जिल्ला अध्यक्ष तप्तराज शर्मा, कपिलवस्तु जिल्ला अध्यक्ष तिवारी, बर्दिया जिल्ला अध्यक्ष सुदन चौधरी, रुपन्देही जिल्ला अध्यक्ष होमप्रसाद ढकाल, बाँके जिल्ला अध्यक्ष उपेन्द्र यादवलगायत स्थानीय तहस्तरीय समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

भेलामा स्थानीय तहस्तरीय समितिका निर्णय कार्यान्वयन नहुनु प्रमुख समस्या रहेको भन्दै समीक्षा गरिएको थियो। संगठन सुदृढीकरणका लागि स्थानीय तहसम्म समितिलाई सक्रिय बनाउने निर्णय गरिएको छ। लुम्बिनी प्रदेशअन्तर्गतका सम्पूर्ण समितिहरू माघ मसान्तसम्म गठन गरिसक्ने निर्णयसमेत भेलाले गरेको छ।

त्यसैगरी यही माघ १७ गते मधेस प्रदेशको मलंगवामा तथा माघ २४ गते विराटनगरमा हुने प्रदेशस्तरीय कार्यक्रमलाई थप सशक्त ढंगबाट अघि बढाउने निर्णय गरिएको छ।

हालसम्म भएका सहमतिहरू कार्यान्वयन नहुनु तथा सेवासुविधा स्थानीय सरकारले उपलब्ध नगराएको विषयमा स्थानीय तहस्तरीय समितिका अध्यक्षहरूले पालिकागत रिपोर्टिङ प्रस्तुत गरेका थिए। उक्त विषयमा जवाफ दिंदै राष्ट्रिय समितिका अध्यक्ष तिवारी र महासचिव शान्तिनाथ योगीले संगठनको तर्फबाट आवश्यक पहल गरिने धारणा राखेका थिए।

कार्यक्रममा अध्यक्ष तिवारीले ‘नेतृत्व क्षमता विकास’ शीर्षकमा तथा महासचिव योगीले ‘संगठन सुदृढीकरण’ शीर्षकमा प्रशिक्षणमूलक धारणा राखेका थिए। साथै राष्ट्रिय समितिले सञ्चालन गरेका हरेक गतिविधिको सकारात्मक सन्देश प्रभावकारी रूपमा प्रवाह गर्ने र कार्यक्रमको परिणाममुखी कार्यान्वयनमा जोड दिने निर्णय गरिएको छ।

प्रकाशित: ११ माघ २०८२ १०:२६ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast