दुःख पाइयो भन्दै बाह्रबिसेका पूर्वमेयर निमफुञ्जोले त्यागे एमाले

हिमाल प्रेस ९ माघ २०८२ ६:४१
16
SHARES
दुःख पाइयो भन्दै बाह्रबिसेका पूर्वमेयर निमफुञ्जोले त्यागे एमाले

काठमाडौँ- सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाले नेकपा एमाले परित्याग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामाे स्ट्याटस लेख्दै पूर्वमेयर शेर्पाले सिन्धुपाल्चोकका पार्टी पंक्तिले आफूलाई दिनुसम्म दुःख दिएको भन्दै एमाले त्याग्नु नै उचित ठानेको बताएका छन्।

‘बाह्रबिसे, भोटेकोशी जस्ता क्षेत्रमा कुनै दिन एमालेका कार्यकर्ता गन्न सकिने अवस्थामा थिए। तर हामीले त्यही ठाउँमा स्थानीय तहको पहिलो निर्वाचन जित्यौं। म संस्थापक मेयर बनेँ र तपाईंहरू सबैको साथ र विश्वासले बाह्रबिसेलाई एमालेको गढ बनायौं। त्यो मेरो व्यक्तिगत सफलता होइन, यो पार्टी र कार्यकर्ताको सामूहिक जित थियो। तर दुःखद सत्य के हो भने, पार्टीभित्रकै केही मान्छेहरूले बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमाले बलियो भएको देख्न सकेनन्। उनीहरूले हामीलाई कमजोर बनाउन दुई वटा कमिटी बनाएर विभाजन गर्ने काम गरे। म सधैं पार्टीका साथीहरूको दुःख-सुखमा उभिएँ, कार्यकर्ताको मनोबल बढाउन अग्रपङ्क्तिमा रहेँ। तर यसको बदलामा मलाई पुरस्कार स्वरूप कारबाही दिइयो,’ उनले भनेका छन्।

मान्छेका रूपमा आफूसँग कमजोरी रहेको र तिनै कमजोरीमा टेकेर पार्टीमा गरेको योगदान, संघर्ष र आफ्ना् क्षमतालाई पूर्ण रूपमा अस्वीकार गरेको उनको गुनासाे छ।

‘जब पार्टीले तेरो आवश्यकता छैन भन्ने सन्देश कारबाहीमार्फत दियो, त्यसपछि यहाँ बसिरहनु मेरो आत्माले स्वीकार गरेन। म मान्छे हुँ कमजोरी हुन सक्छ,तर त्यसको सजाय यति निर्मम हुनु पर्छ र? मेरो योगदान,मेरो क्षमताको कुनै मुल्य छैन भन्ने सन्देशले म भित्र भित्रै तड्पिरहेँ, आत्माले बोलेपछि त्यहीँ टाँसिएर बस्न सकिनँ। त्यसैले आज, नेकपा एमालेले दिएको संगठित सदस्यता यही मितिबाट त्याग गरेको छु। यो कार्ड पहिलो पटक हातमा लिँदा जुन गर्व थियो, आज छोड्दा त्यही गर्व आँसु बनेर झरिरहेको छ। मन रोइरहेको छ, तर छोड्नुको विकल्प रहेन,’ उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast